• १६ चैत २०८०, शुक्रबार

विश्व च्याम्पियन्सीपमा खेल्दै प्रज्वल

blog

काठमाडौँ, मङ्सिर १८ गते । नेपाली शारीरिक सुगठनका खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा लगातार नेपाललाई पदक दिलाएको इतिहास छ । प्रज्वल शाक्य पनि अहिले सोही गौरवलाई कायम राख्न दुई सिफ्टमा प्रशिक्षक रुजेश शाहीको निगरानीमा दैनिक सात घण्टा अभ्यास गरिरहनुभएको छ ।

प्रज्वलले अर्को हप्ता थाइल्यान्डमा हुने १३औँ विश्व बडिबिल्डिङ एन्डि फिजिक स्पोर्ट्स च्याम्पियन्सीपमा सहभागिता जनाउँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न प्रज्ज्वल र महिला खेलाडी श्वेता कपाली सोमबार थाइल्यान्डको फुकेट प्रस्थान गर्नुहुनेछ । जहाँ डिसेम्बर ८ मा तौल परीक्षण र डिसेम्बर ९ र १० मा प्रतियोगिता हुनेछ । यस प्रतियोगिता दशौँ संस्करणमा महेश्वर महर्जनले ७५ केजी समूहमा नेपाललाई स्वर्ण पदक दिलाइसक्नुभएको छ । प्रज्वलले ६५ केजी र श्वेताले मोडेल फिजिक्समा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।

प्रज्वल आफूले कठिन अभ्यास गरेको र आफू अहिलेसम्मको उत्कृष्ट ‘सेप’मा रहेकोले प्रतियोगितामा राम्रो गर्ने अपेक्षा गर्नुभएको छ । उहाँ भन्नुहुन्छ– प्रतियोगिता खेल्दा सधैँ आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्ने मात्र मेरो ध्यान हुन्छ । त्यसैले सफलता दिलाउने हो । तर विश्व च्याम्पियन्सीपमा प्रतिस्पर्धा निकै कठिन हुन्छ । त्यसैले गत महिना नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेपछि मैले अझ आफ्नो लेभल बढाउन मिहिनेत गरेको छु र अहिले अहिलेसम्मकै राम्रो सेपमा छु । आशा छ प्रतियोगितामा राम्रो गर्नेछु ।

प्रज्वलका अनुसार नेपाल शारीरिक सुगठन सङ्घले गण्डकी प्रदेशमा भएको राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनको आधारमा उहाँलाई विश्व च्याम्पियनसिप लागि चयन गरेको हो । प्रज्ज्वलले राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्नुभएको थियो । प्रज्वलको यो मात्र दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । 

यसअघि, उहाँले साउथ एसियन बडिबिल्डिङ च्याम्पियन्सीपमा कांस्य पदक जित्नुभएको थियो । प्रज्वलले विश्व च्याम्पियनसिप आफ्नो अन्तिम प्रतियोगिता हुने खुलासा पनि गर्नुभयो । ‘जिममा लागेको २४ वर्ष भयो । प्रतियोगिता खेल्न थालेको सन् २०१६ देखि हो । त्यसैले विश्व च्याम्पियनसिप खेलाडी जीवन त्याग्ने निर्णय गरेको हुँ । त्यसैले थाइल्यान्डमा हुने विश्व च्याम्पियन्सीपलाई विशेष बनाउन चाहन्छु’ उहाँको भनाई छ ।