हेटौँडा समाचारदाता
हेटौँडा, मङ्सिर १८ गते । दोस्रो पटक भएको प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुने महिला प्रदेश सभा सदस्यको सङ्ख्या खासै बढ्न सकेन।
ठूला र जनाधार भएका दलहरूले समेत महिलालाई पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार बनाउन प्राथमिकतामा नराखेका कारण पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व बढ्न नसकेको हो।
२०७४ सालमा भएको प्रदेश सभा सदस्य निर्वाचनबाट प्रत्यक्षबाट पाँच जना महिला प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा दोस्रो पटक यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट समेत प्रत्यक्षतर्फ पाँच जना मात्रै महिला प्रदेश सभा सदस्य निर्वाचित भएका छन्।
२०७४ को प्रदेश सभामा प्रत्यक्ष प्रणालीबाट नेकपा (माओवादी केन्द्र)का कुमारी मुक्तान, राधिका तामाङ र लालकुमारी पुन तथा नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य र रमा आलेमगर निर्वाचित हुनुभएको थियो। एमालेबाट निर्वाचित आलेमगरले एमाले विभाजन भएपछि बनेको नेकपा (एकीकृत समाजवादी) रोज्नुभएको थियो ।
२०६४ को संविधान सभा सदस्यमा निर्वाचित मुक्तान प्रदेशको सामाजिक विकासमन्त्री हुनुहुन्छ भने तामाङ बागमती प्रदेशको पूर्वउपसभामुख र आलेमगर बागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति हुनुहुन्थ्यो।
यसैगरी प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई एमालेले प्रतिनिधि सभा सदस्य बनाउने निर्णय गरे पनि अस्वीकार गर्नुभएको थियो भने पुनलाई माओवादी केन्द्रले यस पटकको निर्वाचनमा उम्मेदवार बनाएन।
प्रतिशत पु-याउन समानुपातिककै भर
संविधानले प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकबाट गरी महिला प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ। प्रत्यक्षबाट महिला निर्वाचित हुन नसक्दा यो पटकको प्रदेश सभामा पनि ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न समानुपातिकमै भर पर्नुपर्ने भएको छ।
दोस्रो प्रदेश सभा सदस्य निर्वाचनमा यस प्रदेशमा प्रत्यक्षतर्फ ६६८ उम्मेदवार रहेकोमा ३६ जना स्वतन्त्र उम्मेदवारसहित ८० जना महिला उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।
१४ वटा दलले गरी ४४ जना महिलालाई उम्मेदवार बनाएकोमा सबैभन्दा बढी नेपाल मजदुर किसान पार्टीले १४ जना, कांग्रेस र राप्रपाले पाँच÷पाँच, जनता समाजवादी पार्टी नेपालले चार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मङ्गोल नेसनल अर्गनाइजेसन, माओवादी केन्द्र, नेपाली कांग्रेस (बीपी), नेपाल सुशासन पार्टी र मौलिक जरो किलो पार्टीले दुई/दुई जना महिला उम्मेदवार उठाएको थियो।
त्यसैगरी नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), नेपालका लागि नेपाली पार्टी र ताम्सालिङ लोकतान्त्रिक पार्टीले एक÷एक जना महिला प्रदेश सभा सदस्यमा उम्मेदवार उठाएको थियो।
दलहरूबाट र स्वतन्त्र रूपमा उम्मेदवार बनेकामध्ये माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीबाट गरी पाँच जना महिला प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यमा निर्वाचत भएका छन्।
प्रदेश सभा सदस्यमा निर्वाचित भएकामध्ये तीन पुराना र दुई नयाँ अनुहार छन्।
दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनेमा मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ (क)बाट मुक्तान, नुवाकोट निर्वाचन क्षेत्र नं. १ (क)बाट तामाङ र काठमाडौँ निर्वाचन क्षेत्र नं. १० को (ख)बाट आले मगर हुनुहुन्छ।
कांग्रेसबाट काठमाडौँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ६ (क)बाट हरिप्रभा खड्गी र सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ (क)बाट मसिना खड्का निर्वाचन हुँदै पहिलो पटक प्रदेश सभामा प्रवेश गर्नुभएको छ। खड्गी काठमाडौँ उपमहानगरपालिकाका पूर्वउपप्रमुख र खड्का कांग्रेस बागमती प्रदेश समितिको सदस्य हुनुहुन्छ।
११० सदस्यीय रहने बागमती प्रदेश सभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ जनाको प्रतिनिधित्व रहने व्यवस्था छ। २०७४ मा गठन भएको प्रदेश सभामा संविधानमा व्यवस्था भएअनुसार महिला प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गर्न ३२ जना महिला समानुपातिक प्रणालीबाट पुग्नुभएको थियो।
तीमध्ये एमालेका १६, कांग्रेसका सात, माओवादी केन्द्रका पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, नेपाल मजदुर किसान पार्टी र विवेकशील साझा पार्टीबाट एक/एक जना थिए।
यस पटक पनि प्रत्यक्षतर्फ पाँच जना मात्र महिला निर्वाचित भएकाले प्रदेश सभामा ३२ जना महिला समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन्। समानुपातिकमा हालसम्म पाएको मतको आधारमा सबैभन्दा बढी एमालेले र त्यसपछि कांग्रेसले समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्य पाउने देखिन्छ।
प्रदेश सभामा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनै पर्ने संवैधानिक व्यवस्थाका कारण बन्दसूचीमा परेका कतिपय जनजाति र सीमान्तकृत समुदायका पुरुष उम्मेदवारले समानुपातिक प्रणालीबाट प्रतिनित्वि गर्ने अवसरबाट वञ्चित हुने देखिन्छ।