• १३ वैशाख २०८१, बिहिबार

काम गर्न मन्त्री बन्ने सोचमा छु : नेता भण्डारी

blog

पत्रकार भेटघाट कार्यक्रममा नेता भण्डारी र कार्की । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मंसिर १६ गते । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले यस पटक जनताको पक्षमा काम गर्न आफू मन्त्री बन्ने सोचमा रहेको बताउनुभएको छ ।

कांग्रेस गुल्मीले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले सो कुरा बताउनुभएको हो । मन्त्री बन्नका लागि मात्र नभई काम गर्नका लागि यस पटक मन्त्री बन्ने सोचमा छु उहाँले भन्नुभयो ।  

आफू यस पटक गठबन्धनको सरकारबाट काम गर्नेगरी मन्त्री बन्ने र सकभर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि सहकार्य गरेर अगाडि बढ्ने गरी वातावरण बनिरहेको दाबी गर्नुभयो ।  

युवाहरूको जोस र जाँगरबाट समस्याहरू समाधान हुन सक्ने भन्दै युवा नेताहरूको नेतृत्व आवश्यक रहेको बताउनुभयो । गठबन्धन भित्र पनि युवालाई सरकारको नेतृत्व दिनेगरी छलफल चलाउनुपर्ने उहाँको भनाइ छ । 

पार्टी र गठबन्धनभित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उहाँले बताउनुभयो । यस्तै, जिल्लामा अधुरा तथा नयाँ विकास निर्माणका कामलाई पूरा गर्नेगरी काम गर्ने पनि उहाँको भनाइ छ । गुल्मीलाई विकास निर्माणले नमुना जिल्ला बनाउने गरी आफूले योजना बनाएको उहाँको दाबी छ । भण्डारीले जिल्लामा गठबन्धन अर्धरुपमा सफल भएको चर्चा गर्नुभयो । 

गुल्मी क्षेत्र नं १ को प्रदेश सभा (ख) का सांसद धनेन्द्र कार्कीले जिल्लाको विकास र निर्वाचनमा गरेका प्रतिबद्धतालाई पूरा गर्ने बताउनुभयो ।