• ११ मंसिर २०८१, मङ्गलबार

दृष्टिविहीन दम्पतीलाई घर चलाउनै गाह्रो

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, मङ्सिर १६ गते । मोरङको कानेपोखरी–६, सुन्तली गाउँका पूर्ण दृष्टिविहीन सुब्बा दम्पतीले राज्यबाट अपहेलित भएको गुनासो गर्नुभएको छ। दुवै जना पूर्ण दृष्टिविहीन भए पनि सरकारले अपाङ्गताको रातो परिचयपत्र नदिएको उहाँहरूको भनाइ छ। 

पूर्ण दृष्टिविहीनलाई सरकारले पूर्ण अपाङ्गता भएको मान्दैन। अर्काको सहारामा हिँड्ने र खानेलाई मात्र रातो परिचयपत्र दिने र त्यस्ता व्यक्तिलाई मासिक चार हजार रुपियाँ दिने कानुनी व्यवस्था छ। दृष्टिविहीन सागरराज सुब्बा तीन वर्षअघिसम्म सरकारी विद्यालयमा पढाउनुहुन्थ्यो। धरानको शहीद स्मृति माविमा २२ वर्ष पढाउनुभयो तर पनि उहाँ स्थायी हुन सक्नुभएन। त्यसपछि ‘गोल्डेन हेन्डसेक’ लिएर जागिरबाट अवकाश लिनुभएका सुब्बा यतिबेलाको दैनिकी कष्टपूर्ण भएको बताउनुहुन्छ। सरकारले दिएको छ लाख ६७ हजार रुपियाँ उहाँले घरखेत जोड्नमा खर्चिनुभयो। घरखेत जोड्नुभयो तर जागिर छैन। 

सुनसरीमा छँदा उहाँ नेत्रहीन सङ्घको सचिव हुनुहुन्थ्यो। त्यसै बेला उहाँको सुनसरी इनरुवाकी सुन्तीकुमारी मण्डलसँग चिनजान भयो। घरखेत जोडेपछि उहाँले २०७७ को फागुन ११ गते इनरुवा–४ की उनै सुन्तीकुमारी मण्डलसँग अन्तरजातीय विवाह गर्नुभयो।

शिक्षाशास्त्रमा स्नातक उत्तीर्ण मण्डल अहिले शिक्षा आयोगको परीक्षा दिने तयारीमा हुनुहुन्छ। उहाँले भन्नुभयो, शिक्षण अनुमतिपत्रको अभावमा यसअघिको परीक्षा दिन पाइनँ। त्यसैले प्रमाणपत्र सिरानीमा हालेर बेरोजगार जीवन बिताउनु परेको छ। सुन्तीकुमारी पनि पूर्ण दृष्टिविहीन हुनुहुन्छ तर पनि उहाँहरूको दैनिकी अरू औसत मानिसको भन्दा फरक छैन। घरका सबै काम उहाँहरू आफैँ गर्नुहुन्छ। सहयोगी नलिई हिँड्नुहुन्छ। उहाँहरूको घर भएको गाउँ सुन्तोलीबाट दैनिकजसो बजार आउजाउ गर्नुहुन्छ।

हातमा बल छ। सानोतिनो सीप पनि छ तर रोजगार नपाएकै कारण राज्यसँग हात थापेर खानु परेकोमा उहाँहरूलाई दुःख लागेको छ। उहाँहरू भन्नुहुन्छ, “पेन्सन भएन। सरकारले अरू रोजगार दिएको छैन। जागिरको जाँच लेख्न अनेक समस्या छन्। त्यही भएर दुई छाक खान सामाजिक सुरक्षा भत्ता चाहिएको हो।”