• १५ वैशाख २०८१, शनिबार

जापान र स्पेन नकआउट चरणमा, जितेको जर्मनी बाहिरियो

blog

स्पेनविरुद्ध गोल गरेपछि जापानका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १६ गते । जापान र स्पेन कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । जर्मनी समूह चरणबाटै बाहिरिएको छ । 

समूह ‘ई’ अन्तर्गत खालिफा इन्टरनेशनल स्टेडियममा बिहीबार राति भएको अन्तिम खेलमा जापानले स्पेनलाई २-१ गोलले हरायो । जापान समूह विजेता र हारेको स्पेन उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् । 


यता चार पटकको विश्वकप च्याम्पियन जर्मनी कोस्टारिकालाई ४–२ गोलले हराएपनि समूह चरणबाटै घर फर्कन बाध्य भयो । समूहमा जर्मनी र स्पेनको समान चार चार अंक भएपनि स्पेनले गोल अन्तरका आधारमा जर्मनीलाई पछि पार्दै अघिल्लो चरणमा स्थान बनायो ।


जर्मनीलाई अगाडि बढ्न आफ्नो जितसँगै स्पेनले जापानलाई हराउनु पर्ने थियो । जुन नतिजा जर्मनीको अनुकुल आएन । एसियाली देश जापानले स्पेनलाई हराएपछि जर्मनीको विश्वकप यात्रा समूह चरणमाथि जान सकेन ।


स्पेनले जर्मनीलाई गोल अन्तरका आधारमा पछि पार्नुमा पहिलो खेलमा कोस्टारिकालाई ७-० गोलले पराजित गर्नु महत्त्वपूर्ण अर्थ रह्यो । समूहमा जर्मनी र स्पेन जस्ता टोलीलाई हराएसँगै शीर्षस्थानमा रहेको जापान ६ अंक जोड्न सफल भयो । तीन अंक बनाएको कोस्टारिका अन्तिममा रह्यो । 

जापानको जितमा रित्सु डोन र एओ तानकाले गोल गर्नुभयो । स्पेनका अल्भारो मोराटाले एक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा खेलमा सुरुवाती अग्रता स्पेनले लिएको थियो । ११औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनको उत्साह जगाउनुभयो । उहाँले सेजर एज्पिलीक्वेटाको पासमा हेडगोल गर्नुभएको थियो । 


तर दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गरेको जापानले ४८औं मिनेटमा गोल फर्कायो । रित्सुले स्पेनका रक्षकको गल्तीमा डिबक्सभित्र बल खोस्दै गोल गर्नुभएको थियो । त्यसपछि ५१औं मिनेटमा तानकाले काओरु मितोमाको पासमा गोल गर्दै जापानलाई महत्वपूर्ण जित दिलाउनुभयो । 

यसैगरी अल बायट स्टेडियममा भएको खेलमा जर्मनीलाई जिताउन काइ हार्भट्जले दुई गोल गर्नुभयो । सर्ज नाब्री र निकलस  फुलक्रुगले एक एक गोल गर्नुभयो ।


कोस्टारिकाका यल्तिसन  तेजेदाले गोल गर्नुभयो । कोस्टारिकाले अर्को गोल जर्मनीबाट आत्मघाती उपहार पाएको थियो ।जर्मनीले १०औं मिनेटमा सर्ज नाब्रीले गोलमा अग्रता लिएको थियो ।

५८औं मिनेटमा कोस्टारिकाका तेजेदाले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ७०औं मिनेटमा जर्मनीका गोलरक्षक म्यानुअल नेउरबाट आत्मघाती गोल भएपछि कोस्टारिकाले २–१ गोलको अग्रता बनायो । 


त्यसपछि  ७३औं र ८५औं मिनेटमा काई हाभर्टजले लगातार दुई गोल गर्दै जर्मनीलाई ३–२ गोलले अगाडि बढाउनुभयो । ८९औं मिनेटमा निकलस  फुलक्रुगले गोल गर्दै जर्मनीलाई सजिलै जिताउनुभयो ।

जितेपनि जर्मनी अन्तिममा अभागी ठहरियो । जर्मनी अघिल्लो विश्वकपमा पनि समूह चरणबाटै घर फर्किएको थियो । एजेन्सी