• १८ असार २०८१, मङ्गलबार

प्रतिनिधिसभामा रहेका सबै विधेयक निष्क्रिय, राष्ट्रियसभाका यथावत् : सहायक प्रवक्ता

blog

सङ्घीय संसद सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमला । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, मङ्सिर १४ गते । सङ्घीय संसद्को एक कार्यकाल पूरा भएको छ । मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो सङ्घीय संसद्को कार्यकाल सुरु हुने तरखरमा छ ।

मङ्सिर ४ गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ । अधिकांश स्थानमा भने मतपरिणाम आइसकेको छ । निर्वाचन परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन ।

नेपाली कांग्रेस र नेकपा (एमाले)यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरुको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ । मतपरिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा  सङ्घीय संसदमा दर्ता भएका विधेयकहरु अब के होलान् ? भन्ने चासो छ ।

सङ्घीय संसद सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमलाले सङ्घीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताउनुभयो । उहाँले प्रतिनिधिसभामा उत्पत्ति भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरु निष्क्रिय भइसकेको जानकारी दिनुभयो ।

सहायक प्रवक्ता धमलाका अनुसार राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरु भने अधिवेशन सुरु भएपछि सोही अवस्थाबाट सुरु हुनेछ । राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयक १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरु भने निष्क्रिय भइसकेको बताउनुभयो । उहाँले सरकारले तिनै विधेयकहरु ल्याउन चाहेको खण्डमा भने फरक ढङ्गले ल्याउनुपर्ने र ती विधेयकहरुको पुनः नयाँ प्रक्रिया (जिरो) बाट सुरु हुने जानकारी दिनुभयो ।

‘‘सङ्घीय संसद्को एक कार्यकाल पूरा भएको छ । यो चरणमा सङ्घीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भएका छन् । प्रतिनिधिसभामा उत्पत्ति भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरु निष्क्रिय हुने भन्ने व्यवस्था छ । तर, राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयक १२ वटा छन् । ती विधेयक विचाराधीन अवस्थामा नै छन् ।,’’ सहायक प्रवक्ता धमलाले थप्दै भन्नुभयो, ‘‘अधिवेशन सुरु भएपछि जुन अवस्थामा रहेका छन्, त्यही अवस्थाबाट सुरु हुन्छन् । ती भन्दा बाहेकका अरु सबै विधेयक निष्क्रिय भए । सरकारले तिनै विधेयकहरु ल्याउन चाह्यो, फरक ढङ्गले ल्याउन चाह्यो वा कुनै पनि विधेयक सङ्घीय संसदमा दर्ता गर्न ल्याए फेरि ती विधेयकहरुको नयाँ प्रक्रिया सुरु हुन्छ । जिरोबाट सुरु हुन्छ ।’’

सहायक प्रवक्ता धमलाले विधेयकहरु राष्ट्रियसभाबाट आए राष्ट्रियसभाबाट नै अघि बढ्ने र प्रतिनिधिसभाबाट आए प्रतिनिधिसभाबाट नै अघि बढ्ने प्रावधान रहेको बताउनुभयो ।