• ७ पुस २०८१, आइतबार

रसुवा–सिमपानी सडकको शिलान्यास

blog

रसुवा–सिमपानीको सडकको शिलान्यास गर्नुहुँदै मन्त्री भुपेन्द्र राई ।

राजकुमार भट्टराई

खोटाङ, पुस ७ गते । कालोपत्रेका लागि ठेक्का लागेको रसुवा–सिमपानी –१५ किलोमिटर सडकको शिलान्यास गरिएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले आफु मन्त्री भएको १०० दिन पुगेको अवसरमा गृह जिल्लाको सडक कालोपत्रेको शिलान्यास गर्नुभएको हो ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ४६ करोड ७५ लाख ९८ हजार ६५७ रुपियाँ ५६ पैसामा उक्त सडक कालोपत्रे हुन लागेको हो । खोटेहाङ गाउँपालिका –९ लिच्किराम्चे रसुवाबाट सिम्पानी–रोक्सिङहुँदै पानथारे भोजपुर जोड्ने सडकको मन्त्री राईले शिलान्यास गर्नुभएको हो । 

हाल उक्त सडकको रसुवाबाट सिमपानीसम्मको १५ किलोमिटर सडक कालोपत्रे हुनेछ । ठेक्का सम्झौताअनुसार साढे ५ मिटर फराकिलो सडक ५ सेन्टीमिरटको कालोपत्रे हुनेछ । सडकको दुवैतर्फ एक मिटर सोल्जर रहनेछ, १ मिटर १० सेन्टीमिटरको नाली रहने पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ ।

याक्थुम्हाङ÷रेग्मी÷चुरिया जेभी निर्माण कम्पनीले सडक कालोपत्रेको जिम्मा पाएको हो । २०८१ साउन ७ गते सम्झौता भएको सडक कालोपत्रेको ठेक्काको म्याद ३६ महिना अर्थात २०८४ साउन ६ गतेसम्म रहनेछ । सम्झौता मितिभित्रै काम सम्पन्न गरेर सडक हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ ।

समयमै काम सम्पन्न भए खोटाङ जिल्लाभित्र पर्ने मध्यपहाडि लोकमार्ग बाहेक कालोपत्रे हुने पहिलो जिल्लाको सडक रसुवा–सिम्पानी सडक बन्ने छ । ट्रयाक ओपन भएको लामो समयसम्म बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे रहने रसुवा–पानधारे सडक अबको ३६ महिनाभित्रमा कालोपत्रे हुने निश्चित भएको हो । 

रसुवा–पानथारे सडक कालोपत्रे भएपछि सिङ्गो खोटेहाङ गाउँपालिकासँगै जिल्लाको दक्षिण भूगोलको आम नागरिकलाई तराइसँग जोडिन सहज हुनेछ । पूर्वाधार विकास मन्त्री एवं स्वाथ्यमन्त्री भूपेन्द्र राईले गर्नुभएको सडक शिलान्यास कार्यक्रममा मन्त्रालयका सचिवसँगै खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई उपाध्यक्ष रुपेश राई, बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई, हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेशकुमार राउतलगायत विभिन्न वडाका वडाध्यक्षसँगै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

शिलान्यास कार्यक्रमका बोल्दै मन्त्री राईले सम्झौता मितिभित्र सडक कालोपत्रे गरिसक्न निर्माण कम्पनीलाई निर्देश दिनुभएको छ । बजेट मन्त्रालयले शुनिश्चित गर्ने छ, तर सडक बिचैमा अलपत्र पारेर छाड्न निर्माण कम्पनीलाई छुट नभएको उहाँले बताउनुभयो । 

कालोपत्रे सडक हेर्न अन्य जिल्ला जानु पर्ने खोटाङका नागरिकले अब आफ्नै जिल्ला, आफ्नै गाउँको कालोपत्रे सडकमा यात्रा गर्न पाउने उहाँको भनाइ छ । रसुवा–सिम्पानी सडक शिलान्यास भइसकेको छ, योसँगै जिल्लाका अन्य सडक पनि कालोपत्रे गर्नेगरी आफू लागिरहेको उहाँले बताउनुभयो ।