• १६ चैत २०८०, शुक्रबार

वेल्सलाई इङ्ग्ल्यान्डविरुद्ध जित्नैपर्ने

blog

दोहा, मङ्सिर १३ गते। बेलायतका दुई टिम इङ्ग्ल्यान्ड र वेल्सबीच फुटबलमा ठूलो प्रतिद्वन्द्विता छ। सन् २०१६ मा भएको युरो कपमा आइसल्यान्डसँग पराजित भएर इङ्ग्ल्यान्ड बाहिरिँदा वेल्सका खेलाडीहरूले मनाएको खुसियाली ‘भाइरल’ भएको थियो। सो प्रतियोगितामा इङ्ग्ल्यान्डसँग समूह चरणमा २–१ ले हारेको वेल्स सेमिफाइनलसम्मको यात्रा गर्न सफल भएको थियो।

प्रतियोगितापछि इङ्ग्ल्यान्डको प्रमुख प्रतियोगितामा प्रदर्शन प्रशंसालायक छ। सन् २०१८ को विश्वकपमा अन्तिम चारमा पुगेको इङ्ग्ल्यान्ड गत वर्ष भएको युरो च्याम्पियनसिपको फाइनलमा इटालीसँग टाइब्रेकरमा हारेपछि मात्र च्याम्पियन बन्नबाट वञ्चित भएको थियो।

कतार विश्वकपमा इङ्ग्ल्यान्डलाई उपाधि दाबेदार मानिएको छ। वेल्ससँग पराजित नै भए पनि गोल अन्तरका आधारमा इङ्ग्ल्यान्डको अगाडि बढ्ने सम्भावना उत्तिकै छ। वेल्सलाई भने सुरुका दुई खेलबाट मात्र एक अङ्क बनाएपछि इङ्ग्ल्यान्डलाई हराउनुको विकल्प छैन। इङ्ग्ल्यान्डलाई हराउन वेल्सले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नुपर्नेछ। सन् १९८४ पछि इङ्ग्ल्यान्डले वेल्सलाई हराएको छैन।

वेल्सले आफ्ना प्रमुख खेलाडी गारेथ बेलबाट प्रेरणा लिन खोज्नेछ तर अहिले लस एन्जल्सबाट खेलिरहेका बेलले सुरुका दुई खेलमा आफ्नो क्षमताअनुरूप खेल्न सक्नुभएको छैन। इङ्ग्ल्यान्ड पनि आफ्ना कप्तान तथा प्रमुख स्ट्राइकर ह्यारी केनबाट गोल नआउँदा केही चिन्तामा छ। सन् २०१८ मा गोल्डेन बुट जित्नुभएका केन इङ्ग्ल्यान्डको सर्वाधिक गोलकर्ता बन्नबाट पनि मात्र तीन गोल टाढा हुनुहुन्छ।

इरान र अमेरिका भिड्दै

अमेरिका र इरानबीचको खेल राजनीतिक कारणले पनि तनावपूर्ण हुने गर्छ। सन् १९९८ मा इरानले अमेरिकालाई हराउँदा इरानीमा ठूलो खुसी मनाइएको थियो। घर फर्कंदा इरानी खेलाडीले भव्य स्वागत पाएका थिए। यी दुई राष्ट्र विश्वकपमा पुनः मङ्गलबार भिड्दै छन्।

अमेरिकी फुटबल महासङ्घले यस खेलअघि इस्लामिक गणतन्त्रको प्रतीकबिना सामाजिक सञ्जालमा इरानको झन्डालाई राखेपछि यो खेलको चर्चा अझ चुलिएको छ। यस्तो तनावपूर्ण खेलमा दुवै टिमलाई अगाडि बढ्न जितको खाँचो छ। यस समूहमा इरान तीन अङ्कसहित 

दोस्रो र अमेरिका दुई अङ्कसहित तेस्रो स्थानमा छन्। पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ६–२ ले हारेपछि इरानले वेल्सलाई २–० ले पराजित गरी विश्वकपमा शानदार पुनरागमन गरिसकेको छ। अमेरिकाले भने सुरुका दुई खेलमा वेल्ससँग १–१ र इङ्ग्ल्यान्डसँग गोलरहित बराबरीमा खेलेका थिए। अमेरिकाको यस टिमलाई अहिलेसम्मकै उत्कृष्ट पुस्ता मानिएको छ तर विश्वकप छनोटमा क्यानडा र मेक्सिकोपछि अमेरिका तेस्रो स्थानमा रहेको थियो। अहिले विश्वकपमा पनि इरानविरुद्ध बराबरी र हारले प्रतियोगिताबाट अमेरिका बिदा हुने समीकरण बनेको छ।

अमेरिकाविरुद्धको खेलमा फेयनउडबाट खेल्ने इरानका मिडफिल्डर अलिरेजा जहाबक्सको अनुपस्थिति रहनेछ। सुरुका दुई खेलमा पहेँलो कार्ड बेहोरेपछि जहाबक्स अमेरिकाविरुद्धको खेलका लागि प्रतिबन्धित हुनुभएको हो। एपी