• १३ साउन २०८१, आइतबार

ढुङ्गा लागेर सेनाका अमल्दार गम्भीर घाइते

blog

राजन रावत

हुम्ला, मङ्सिर ११ गते । कर्णाली कोरिडोरको हुम्ला खण्डको दुल्ली कुनादेखि लालीबगर क्षेत्रको सुनाखाडाको चट्टानी भीर विस्फोट गर्ने क्रममा उछिट्टिएको ढुङ्गा लागेर एक जना नेपाली सेनाका अमल्दार गम्भीर घाइते हुनु भएको छ । दिउँसो भीर विस्फोट गर्दा ड्युटीमा खटिनुभएका अमल्दार खेमराज पोखरेल घाइते हुनुभएको हो ।

बराहदल गुल्म रानी बनका गुल्मपति सुरेन्द्र श्रेष्ठले घटनाको पुष्टि गर्दै सेनाका अमल्दार पोखरेल गम्भीर घाइते भएको बताउनुभयो । उहाँले सडक निर्माण गर्ने कामदार र सेना मिलेर अग्लो र चट्टानी भीर विस्फोट गरिरहेको बेला मानिस आउजाउ कार्य बन्द गर्न ड्युटीमा खटिएकै बेला विस्फोट भएको ढुङ्गा उछिट्टिएर पोखरेललाई लागेको उहाँले बताउनुभयो । 

करिब ३५ वर्षका पोखरेलको टाउको र दायाँ खुट्टामा गम्भीर चोट लागेको निर्माणमा खटिएको सेनाले जनाएको छ । उहाँ कालीबक्स गण सुर्खेतमा कार्यरत रहेको र हाल कर्णाली कोरिडोरको हुम्ला खण्डको सो सडक निर्माणमा खटिँदै आउनुभएको थियो । 

गम्भीर घाइते पोखरेलको सुर्खेतबाट आएको सेनाको हेलिकोप्टरले उद्धार गरी उपचारका लागि नेपालगन्ज लगिएको छ । गुल्मपति श्रेष्ठले पोखरेलको अवस्था चिन्ताजनक रहेको बताउनुभयो । यसअघि पनि सोही स्थानमा लडेर एक जना सेनाको मृत्यु भएको थियो ।