• ३० वैशाख २०८२, मङ्गलबार

कोरिया अध्ययनमा जान एनओसी स्थगित

वार्षिक दस हजार विद्यार्थी प्रभावित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३० गते । नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययनमा आकर्षक गन्तव्य रहेको दक्षिण कोरियाका लागि अध्ययन अनुमतिपत्र (एनओसी) वितरण स्थगित गरिएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि हालै एनओसी स्थगित गरेको हो । अध्ययनका लागि गएका विद्यार्थीले कोरियामा निकै हैरानी बेहार्नुपरेको भन्दै यसअघि विभिन्न गुनासा आउने गरेका थिए । कोरियास्थित नेपाली दूतावासमा समस्या लिएर आउने विद्यार्थी बढेपछि दूतावासले नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो । परराष्ट्र मन्त्रालयले पनि विद्यार्थीका गुनासा तथा उनीहरूले बेहोर्नुपरेका हैरानीका विषयमा जानकारी गराउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई केही समयअघि पत्राचार गरेको थियो ।

शिक्षा मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालले भन्नुभयो, “कोरियामा विद्यार्थीले दुःख पाएको भनेर दूतावासबाट परराष्ट्रमा कुरा आएको रहेछ । परराष्ट्रबाट पनि शिक्षा मन्त्रालयमा पत्र आएपछि के भएको हो भनेर बुझ्नका लागि तत्काललाई एनओसी रोकिएको हो ।”

अध्ययनका लागि कोरिया जाने भनिए पनि विद्यार्थीले त्यहाँ गएर सुरुमा कोरियन भाषा पढ्नु पर्छ । उक्त भाषामा दक्ष भएपछि मात्रै उनीहरूले विश्वविद्यालय भर्ना हुन पाउँछन् तर विश्वविद्यालय भर्ना हुनुअघि तथा भर्ना भइसकेपछि पनि उनीहरूले रोजगारीलगायतका विषयमा कष्ट बेहोर्नुपरेको गुनासो आउने गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार दक्षिण कोरियामा अध्ययनका लागि जान भन्दै पछिल्लो पाँच वर्षमा ३१ हजार ९७३ वटा एनओसी जारी गरिएको छ । जसमध्ये २०८१ सालमा मात्रै १० हजारको हाराहारीमा एनओसी जारी भएको छ । नेपाली विद्यार्थीका लागि कोरिया छैटौँ आकर्षक गन्तव्य रहने गरेको छ ।