पनौती, वैशाख ३० गते । गत असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका काभ्रेपलाञ्चोक, पनौतीका स्थानीयवासीले पुनः ठुलो क्षति बेहोरेका छन् । असोजको बाढीपहिरोले दिएकोे चोट बिर्सन नपाउँदै पनौतीवासीलाई सोमबार परेको आरीघोप्टे वर्षाले फेरि झस्काएको पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले जानकारी दिनुभयो ।
एक्कासि परेको वर्षाले रोशी र पुण्यमाता खोलाले उग्र रूप लिएको उहाँले उल्लेख गर्नुभयो । आरीघोप्टे वर्षा आकलनभन्दा बाहिरको रहेकाले पनौतीका विभिन्न वडामा असर पारेको उहाँले बताउनुभयो । बाढीले खानेपानीको पाइप लाइन बगाउनुका साथै गत असोजको बाढीले ध्वस्त बनाएको सडकलाई असर पारेको उहाँले जानकारी दिनुभयो । वैशाख महिनामै बाढीले वितण्डा मच्चाएको स्थानीय पुरुषोत्तम कर्माचार्यले बताउनुभयो । उहाँले मनसुन नलाग्दै आएको भीषण बाढीले पुनः पनौतीलाई क्षतविक्षत बनाएको उल्लेख गर्नुभयो ।
सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म अविरल वर्षा भएको थियो । वर्षापछिको बाढीले एक महिला बेपत्ता हुनुभएको छ । उहाँको अवस्था हालसम्म पनि अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
सोमबार साढे ४ बजेतिर पनौती नगरपालिका–५ स्थित सुब्बा गाउँमा कुलोले बगाउँदा सोही ठाउँ बस्ने २८ वर्षीय रेनुका गिरी बेपत्ता हुनुभएको हो । मेला गएर फर्कने क्रममा कुलोमा आएको बाढीले उहाँलाई बगाएको थियो । प्रहरी र स्थानीयवासीले निरन्तर खोजी गरे पनि फेला नपरेपछि सोमबारलाई खोजी कार्य स्थगित गरिएको र मङ्गलबार पुनः खोजी कार्य सुरु हुने प्रहरीले जनाएको छ ।
वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको छ । आलु लगाइएको खेतमा एक्कासि बाढी पस्दा कृषकले ठुलो क्षति बेहोर्नुपरेको छ । गत असोजको बाढीपहिरोपछि निर्माण थालिएका सडक, पुललगायतका भौतिक संरचनामा समेत बाढीले क्षति पारेको उपप्रमुख बन्जाराले भन्नुभयो । गत असोजको बाढीपछि अस्थायी रूपमा ल्याएको खानेपानीका पाइप सोमबारको बाढीले बगाएको छ । त्यस्तै प्रदेश सरकारको बजेटबाट बन्दै गरेका दुई वटा पुलमा क्षति पु¥याएको छ । वडा नम्बर ९ मा बन्दै गरेको एउटा र १० र ११ नम्बर वडाको सिमानामा बनेको अर्को पुलमा क्षति पु¥याएको छ । बाढीले वडा नम्बर २, ३, ४, ५, ६, , ७, ८, ९, १० बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ । करोडौँ रुपियाँको क्षति पुगेको अनुमान गरिएको छ । यद्यपि यसको पूर्ण विवरण आइसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी मीनबहादुर घलले सोमबार साँझ नौ बजेदेखि बिपी राजमार्ग अवरुद्ध भएको उल्लेख गर्नुभएको छ । रोशी खोलाको बहाब बढेर डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको उल्लेख गर्नुभयो । सो स्थानमा इलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरीले बन्द राजमार्ग खुलाउने प्रयास गरिरहेको बताइएको छ ।