जयमान बुढा मगर
रुकुमपूर्व, मङ्सिर ११ गते । उत्तरी रोल्पाको थबाङ गाउँपालिका–२ कोइचबाङस्थित स्थानीय शङ्कर झाँक्री मगरको घरमा शनिबार आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार ५८ वर्षीय झाँक्री मगरको घरमा आगलागी भएको थियो । ढुङ्गा र माटोले बनेको ढुङ्गाको छाना भएको ३ तले घरमा अचानक आगलागी भएपछि आगो नियन्त्रणमा लिन मुस्किल परेको थियो ।
प्रहरी र स्थानीयले तत्काल आगो निभाउन पहल गरे पनि सफलता नमिलेको स्थानीय शिक्षक गोविन विकले बताउनुभयो । आगलागी हुँदा घरमा कोही नभएकाले मानवीय क्षति भएन । आगलागीको कारण पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट घरमा रहेको सम्पूर्ण सरसामान, अन्नपात, गरगहना जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अध्ययन अनुसार आगलागीबाट एक करोड ६० लाख बराबरको सम्पत्ति नष्ट भएको प्रहरीले जनाएको छ ।
पीडितलाई स्थानीयले खाद्यान्नलगायत आवश्यक कपडा सङ्कलन गरेर प्रदान गरेका छन् । पीडितका लागि सहयोग सङ्कलन गर्न स्थानीय सक्रिय भएका हुन् । स्थानीय युवा अमित घर्ती मगरले अन्न तथा अन्य सामान सङ्कलन गरी युवा सङ्गठनको नेतृत्वमा पीडितलाई हस्तान्तरण गरिएको बताउनुभयो ।