• १३ वैशाख २०८१, बिहिबार

खोटाङ प्रदेशसभा (क) मा एमालेका राई, ‘ख’ मा कांग्रेसका राई विजयी

blog

राजकुमार भट्टराई
खोटाङ, मङ्सिर ८ । 
खोटाङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भूपेन्द्र राई विजयी हुनुभएको छ । कांग्रेस प्रदेश नम्बर १ को महामन्त्रीसमेत रहनुभएका राईले नेकपा (एमाले)का जिल्ला अध्यक्षसमेत रहनुभएका राम प्रसाद दंगाललाई दुई हजार १४० मतले पछि पार्दै विजयी हुनुभएको हो ।

राईले १६ हजार ४९६ मत ल्याएर विजयी हुँदा दंगालले १४ हजार ३५६ मत प्राप्त गर्नुभएको छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा)का प्रेमकुमार राईले नौ सय ३५, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले तीन सय १३, मङ्गोल नेशनल अर्गनाइजेसनका बिमला राईले १०१ र नेमकिपाका ध्यानप्रसाद ढकालले १०९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, खोटाङ प्रदेशसभा (क) मा नेकपा (एमाले)का पाँचकर्ण राई (पिके) विजयी हुनुभएको छ । राईले  वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका वीरबलकाजी राईलाई एक हजार १९२ मतले पछि पार्दै विजयी हुनुभएको छ ।

पिकेले १३ हजार १५७ मत प्राप्त गर्नुभएको छ भने वीरबलले ११ हजार ९६५ मत प्राप्त गर्नुभयो । यस्तै, स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले तीन हजार १४५,  जसपाका राकेश राईले दुई हजार ३४०, नेकपा (माले)का पदमप्रसाद आचार्यले एक हजार ५२५, मङ्गोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले १६४, नेमकिपाका केशव राईले ८२ र स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले १२ मत पाउनुभएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।