• ५ जेठ २०८१, शनिबार

घानासँगको खेलअघि युनाइटेडसँग रोनाल्डोको विछोड

blog

क्रिस्टियानो रोनाल्डो ।

काठमाडौं, मङ्सिर ७ गते । कतार विश्वकपमा समूह चरणको खेल सुरु हुनुअघि नै पोर्चुगलका कप्तान एवं विश्वचर्चिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेटसँगको सम्झौता रद्द गर्नुभएको छ । 

युनाइटेडले मङ्गलबार राति रोनाल्डोसँगको सम्झौता अापसी सहमतिमा तत्काल लागु हुनेगरी रद्द गरिएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ । युनाइटेडका प्रशिक्षक इरिक टेन हागसँग सम्बन्ध चिसिएको कारण रोनाल्डोले विश्वकपसँगै युनाइटेड छाड्ने समाचार यसअघि नै आएको थियो । 

तर युनाइटेडले विश्वकप सुरु हुनासाथ रोनाल्डोसँगको सम्झौता भङ्ग गरेको छ । विज्ञप्तिमा युनाइटेडले रोनाल्डोलाई क्लबमा उहाँले दिएको योगदानलाई धन्यवाद दिँदै उज्ज्वल भविष्यको कामना गरेको छ ।

रोनाल्डोले पनि पदाधिकारीहरुसँगको छलफलपछि सहमतिमै सम्झौता रद्द गरेको बताउनुभएको छ । उहाँले आफ्नो लागि अब नयाँ चुनौतीको सामना गर्ने अवसर आएको बताउनुभयो । 

३७ वर्षीय रोनाल्डो अहिले पोर्चुगलको कप्तानको रुपमा विश्वकप फुटबलका लागि कतारमा हुनुहुन्छ । विश्वकपमा पोर्चुगल समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, घाना र दक्षिण कोरिया छन् । पोर्चुगलले बिहीबार (मङ्सिर ८ गते) घानासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

पाँचौं पटक विश्वकप खेल्न लाग्नुभएका रोनाल्डोले पोर्चुगललाई विश्वकप जिताएर आफ्नो सपना सकार पार्ने दाबी गर्नुभएको छ । विश्व फुटबलका सबै खाले उपाधि चुम्नुभएका रोनाल्डोका लागि विश्वकप उपाधिको मात्र भोक बाँकी छ । ४० वर्षमा आफू फुटबल मैदानबाट टाढिने बताउनुभएका रोनाल्डोका लागि यो नै अन्तिम विश्वकप हो । 

व्यावसायिक फुटबलका लागि दोस्रो पटक युनाइटेडमा अनुबन्ध हुनुभएका रोनाल्डोले युनाइटेडका लागि तीन सय ४६ खेल खेल्दै एक सय ४५ गोल गर्नुभएको छ । रोनाल्डो गत सिजन इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड पुग्नुभएको थियो ।

यसअघि रोनाल्डो सन् २००३ मा १८ वर्षको उमेरमा युनाइटेडमा अनुबन्ध हुनुभएको थियो । पहिलो पटक ६ वर्ष युनाइटेडमा बिताउनुभएका उहाँ २००९ मा स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्ध हुनुभयो । १२ वर्ष रियलमा रहनुभएका रोनाल्डो सन् २०१८ मा युभेन्ट्स पुग्नुभएको थियो । 

प्रशिक्षक इरिकसँगको चिसो सम्बन्धका कारण रोनाल्डो युनाइटेडको पहिला रोजाइमा पर्न छोड्नुभएको थियो । प्रिमियर लिगमा अहिले युनाइटेड पाँचौं स्थानमा छ । १४ खेल खेलेको युनाइटेडको २६ अङ्क छ । एजेन्सी