• ११ मंसिर २०८१, मङ्गलबार

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता

blog

सिराज खान 

नेपालगञ्ज, मङ्सिर ६ गते । बाँकेको तीन वटै निर्वाचन क्षेत्रमा जारी रहेको मतगणनामा नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले अग्रता लिएका छन् भने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक र पुर्वमन्त्री इश्तियाक राई पछाडि छन् । 

बाँके ३ बाट उम्मेदवार हुनुभएका कांग्रेस सह-महामन्त्री राठौर सुरुदेखि नै एमालेका उम्मेदवार किस्मत कुमार कक्षपतिसँग पछाडि परे पनि मंगलबार बिहानसम्म दुई सय मतले अग्रता लिन सफल हुनुभएको छ । 

हालसम्म १९ हजार ३२९ मतको गणना भएकोमा कांग्रेसका राठौरले सात हजार ४६५ मत प्राप्त गर्नुभएको छ भने एमालेका कक्षपतिले सात हजार २४३ मत प्राप्त गर्नुभएको छ । 

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्र नाथ शुक्लाले दुई हजार ६२९ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रबाट ७४ हजार २१३ मत खसेको छ । 

यसै गरी क्षेत्र नम्बर १ बाट युवा तथा खेलकुद मन्त्री अथक एमालेका उम्मेदवार सूर्य ढकालसँग एक हजारभन्दा बढी मतले पछाडि पर्नुभएको छ । सुरुबाटै पछाडि रहनुभएका मन्त्री अथकले १२ हजार ७५७ मत गणना भइसक्दा पनि पछाडि नै हुनुहुन्छ । 

सो क्षेत्रबाट हालसम्म एमालेका ढकालले ४ हजार २८८ मत पाउनुभएको छ भने सत्ता गठबन्धनका मन्त्री अथकले तीन हजार २७२ मत प्राप्त गर्नुभएको छ । बाँके क्षेत्र नम्बर २ मा राप्रपाका महामन्त्री धवल शमशेर राणाले जसपाका उम्मेदवार पुर्वमन्त्री इश्तियाक राईलाई पाँच हजार मतले पछाडि पार्नुभएको छ । 

मतगणनाको सुरुवातबाटै पछाडि पर्नुभएका राईको मतान्तर क्रमशः बढ्दै गएको छ । हालसम्म राणाले १३ हजार ३५५ मत प्राप्त गर्नुभएको छ भने पुर्वमन्त्री राईले ८ हजार ५५९ मत प्राप्त गर्नुभएको छ । 

नेपाली कांग्रेसका सुदिप राणाले एक हजार ७५९ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रबाट ६७ हजार मत खसेको छ ।