टीकापुर मङ्सिर ६ गते । कैलालीका तीन वटा क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ को मतगणना पनि सुरु भएको छ । त्यहाँ नागरिक उन्मुक्तिका उम्मेदवार अरुनकुमार चौधरीले अग्रता लिनु भएको छ । तीन हजार २७१ मत गणना हुँदा चौधरीले एक हजार ४८८ मत पाउनु भएको छ । गठबन्धनका भगतबहादुर बडुवालले ८६६, नेकपा एमालेका झपटबहादुर रावलले ६२७ मत पाउनु भएको छ ।
क्षेत्र नम्बर १ मा ११ हजार ५६५ मतको गणना हुँदा नागरिक उन्मुक्तिका उम्मेदवार रञ्जिता श्रेष्ठले पाँच हजार २०१ मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीले तीन हजार ३७० र नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले एक हजार १५१ मत पाउनु भएको छ ।
क्षेत्र नम्बर ३ मा तीस हजार ४३ मत गणना हुँदा नागरिक उन्मुक्तिका गङ्गाराम चौधरीले आठ हजार ६१४ मतका साथ अग्रता लिनु भएको छ । त्यहाँ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले ७ हजार ८५५, एमालेका गौरीशङ्कर चौधरीले ५ हजार २३६, राप्रपाका वीरेन्द्र बमले ५ हजार ५६ मत पाउनु भएको छ ।
प्रदेश सभामा पनि नागरिक उन्मुक्तिकै अग्रता
निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क मा एक हजार ८६१ मत गणना हुँदा नागरिक उन्मुक्तिका कैलाश चौधरीले ७१३, माओवादी केन्द्रका दीर्घराज विनाडीले ५५९, राप्रपाका भीमबहादुर बमले ३३७ र जनता समाजवादीका भगतराम थारुले ५९ पाउनु भएको छ ।
प्रदेश ख मा तीन हजार २०० मत गणना गर्दा उन्मुक्तिका उम्मेदवार लक्ष्मणकिशोर चौधरीले एक हजार ६५७, नेपाली काँग्रेसका डाक्टर रणबहादुर रावलले ५५१, एमालेका द्वारिकाप्रसाद न्यौपानेले मत पाउनु भएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ क मा दुई हजार ७७२ मत गणना हुँदा नागरिक उन्मुक्तिका रतनबहादुर थापा एक हजार २२७ मतका साथ अगाडि हुनुहुन्छ । थापालाई काँग्रेसका कमलबहादुर शाहले ८१६ मतका साथ पछ्याइरहनु भएको छ भने एमालेका उम्मेदवार कमलाकुमारी ओली ४६२ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
प्रदेश सभा ख मा गठबन्धनका उम्मेदवार नन्दबहादुर साउदले अग्रता लिनु भएको छ । दुई हजार ४०२ मत गणना हुँदा साउदले १ हजार १९०, एमालेका डेजी पाण्डेले ७९६ र नागरिक उन्मुक्तिका रामेश्वर चौधरीले १२९ मत पाउनु भएको छ ।
क्षेत्र नम्बर ४ मा काँग्रेस र एमाले तीव्र प्रतिस्पर्धा
प्रतिनिधि सभा सदस्यमा सात हजार ५४५ मत गणना हुँदा एमालेका लेखराज भट्टले तीन हजार ४९४ र नेपाली कांग्रेसका वीरबहादुर बलायरले तीन हजार ४७३ मत पाउनु भएको छ । क्षेत्र नम्बर ४ प्रदेश सभा क मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले अग्रता लिइरहनु भएको छ भने एमालेका भीमबहादुर देउवा र उन्मुक्तिका राजेन्द्रप्रसाद देवकोटाले पछ्याइरहनु भएको छ । प्रदेश सभा ख मा एमालेका हरिसिंह साउद झिनो मतले अगाडि हुनुहुन्छ भने काँग्रेसका प्रकाशबहादुर बमले पछ्याइ रहनु भएको छ । हाल पहाडी क्षेत्रको मत गणनामा एमाले काँग्रेस अघि भएपनि तराई क्षेत्रको मतगणमा नागरिक उन्मुक्तिका कमलराज भट्ट प्रतिस्पर्धामा आउने आकलन छ ।
कैलाली ५ र अन्य क्षेत्रका केही प्रदेश सभाको मतगणना आजबाट सुरु हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।