• १३ साउन २०८१, आइतबार

मकवानपुरमा डिना र बर्तौला अगाडि

blog

मकवानपुरको हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माविमा जारी मतगणना । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, मङ्सिर ६ गते । मकवानपुरमा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा ११ हजार ४६ मत गणना हुँदा कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले पाँच हजार २४७, एमालेका उम्मेदवार कमल थापाले तीन हजार ६९५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले एक हजार १० मत प्राप्त गर्नुभएको छ । 

उता निर्वाचन क्षेत्र नम्बर २ मा भएको मतगणनाको प्रारम्भिक मत परिणामअनुसार एमालेका महेशकुमार बर्तौलाले चार हजार ८५४, नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले चार हजार ४४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले एक हजार १८७ मत प्राप्त गनुभएको छ ।

प्रत्यक्षतर्फको प्रतिनिधि सभा सदस्यसँगै प्रदेश सभा र समानुपातिक तर्फको मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मकवानपुर ५९ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ ।

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर१ मा कुल मतदाता एक लाख ५० हजार १५५ रहेकोमा महिला ४५ हजार ४५६, पुरुष ४६ हजार १२३ र  अन्य चार गरी ९१ हजार ५८३ अर्थात् ६०.९९ प्रतिशतले मतदान गरेका छन् ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा कुल मतदाता एक लाख ५० हजार ५७८ मतदाता रहेकोमा ४६ हजार ७२३ पुरुष र ३९ हजार ९२९ महिला गरी ८६ हजार ६५२ अर्थात् ५७.५८ प्रतिशत मतदाताले मतदान गरेका थिए ।