• १२ साउन २०८१, शनिबार

पाँचथरमा ७ बजेबाट मतगणना हुने

blog

नारायण तुम्बापो 

फिदिम, मङ्सिर ५ गते । पाँचथरमा आइतबार सम्पन्न निर्वाचनको सबै मतपेटिका सोमबार बिहान ३ बजेसम्ममै सङ्कलन भएपनि मतगणना भने साँझ ७ बजेबाट मात्र सुरु हुने भएको छ। यहाँको कुम्मायक गाउँपालिका–४ स्थित सिद्ध माध्यमिक विद्यालय तिङ्देन मतदान केन्द्रमा भएको मतपत्रको विषयमा विवाद उत्पन्न भएपछि गणनामा ढिलाइ भएको हो । 

मतदान केन्द्रमा खटिएका कर्मचारीको असावधानीका कारण २१ थान मतपत्र प्रदेशसभा तर्फको वितरण हुनुपर्नेमा प्रतिनिधिसभातर्फको पर्न गई सोही मत्रपत्रमा मतदाताले सङ्केत गरेर मतदान गरेको पाइएपछि विवाद भएको थियो । यस सम्बन्धमा निर्वाचन आयोगको राय माग गर्न पत्राचार गर्ने र त्यसपछि प्राप्त हुने आयोगको निर्णय मान्ने सर्वदलीय बैठकको निर्णयपछि अन्य क्षेत्रको मत गणना सुरु गर्ने सहमति भएको छ । 

मतगणना धाँधलीरहितले सम्पन्न गर्न गराउन फिदिमको मतगणना स्थल परिसरमा उच्च सर्तकताकासाथ सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतद्वारा प्रदान गरिएको प्रवेश अनुमति पत्र पाएकालाई मात्र मतगणना स्थलमा जान पाउने व्यवस्था गरिएको छ । 

मतगणना कक्षमा तार जाली र सिसी क्यामराकोसमेत व्यवस्था गरिएको छ । प्रत्यक्षतर्फको तीन दिन भित्रमा मतगणना सम्पन्न गर्ने योजना रहेको सूचना अधिकारी सिजापतिले बताउनुभयो। त्यसपछि समानुपातिकको पनि तीन दिनमै परिणाम सार्वजनिक गर्नेगरी गणना थालिने उहाँले जानकारी दिनुभयो । 

जिल्ला निर्वाचन कार्यालय प्रमुख कुमारप्रसाद भट्टराईका अनुसार पाँचथरमा ५४ प्रतिशत मतदान छन् । जिल्लामा कुल एक लाख ३८ हजार ९३२ मतदाता रहेकामा ७४ हजार ८ सय ९८ जनाले मतदान गरेका छन् । जसमा ३९ हजार ६३७ पुरुष र ३५ हजार २६१ महिला रहेका छन् ।  

यो पटक गत स्थानीय तह निर्वाचनको तुलनामा ११ प्रतिशतले कम मतदान भएको पाइएको छ । निर्वाचनप्रति मतदाताको उत्साह नदेखिनुमा मुख्यगरी राजनीतिक दलप्रति नागरिकको वितृष्णा प्रकट भएको सङ्केत मिल्ने यहाँका नागरिक समाज अगुवाको विश्लेषण छ । 

एक सङ्घ तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लाको जम्मा १०२ मतदान स्थल अन्तरगतका १७७ मतदान केन्द्रमा मतदान भएको थियो । निर्धारित मतदान सम्पन्नपछि जिल्लाको विभिन्न ठाउँबाट थालिएको मतपेटिका सङ्कलन गर्न दुर्गमताका कारण सोमबार बिहानको ३ बजेसम्म समय लागेको थियो । 

निर्वाचन कार्यक्रम भइरहेको अवस्थामा  फिदिम नगरपालिका–४, सुखबोध माध्यमिक विद्यालय मतदान केन्द्र क्षेत्रमा दुई पटकसम्म अज्ञात समूहद्वारा सुतली बम विस्फोट गराइएको थियो । निर्वाचन बिथोल्ने प्रयास स्वरूप विस्फोट गराइए पनि मतदान कार्य अवरुद्ध हुन नदिइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । जिल्लाको अन्य ठाउँमा शान्तिपूर्णे निर्वाचन सम्पन्न भएको पाइएको छ ।