• १३ साउन २०८१, आइतबार

सुन्तला जोन कार्यक्रम प्रभावकारी

blog

रजनी योगी

सुर्खेत, मङ्सिर ५ गते । दैलेखको दुल्लु क्षेत्र सुन्तला उत्पादनका लागि उर्वर मानिन्छ। यहाँका थुप्रै किसानले सुन्तलाको व्यावसायिक खेती गरेका छन्। 

दुल्लु नगरपालिका–११, कालभैरवका किसान जगतबहादुर पन्तको सुन्तलाको बगैँचा छ। २०५३ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आउनुभएका पन्तले विगतका केही वर्षको तुलनामा यसपालि सुन्तला धेरै फलेको बताउनुभयो। उहाँले भन्नुभयो, “बोटभरि लटरम्म दाना छन्, गत वर्षभन्दा दोब्बर उत्पादन हुने अनुमान छ।” 

पन्तको बगैँचामा डेढ सय सुन्तलाका बिरुवा र यसकै हाराहारीमा कागती छन्। सुन्तला र कागती उत्पादनबाट वार्षिक तीन लाख रुपियाँभन्दा धेरै आम्दानी गर्दैै आएको उहाँले बताउनुभयो। रोगकीरा र प्राकृतिक प्रकोप नभए सुन्तलाको उत्पादन राम्रो हुने किसानको अनुभव छ। सुन्तलाको बजारीकरणमा पनि समस्या नरहेको र सुन्तला नपाक्दै व्यापारी बगैँचामा आइपुग्ने गरेको किसान बताउँछन्।

दूल्लूको सुन्तला गत वर्ष बोटबाटै प्रतिकेजी ५५ रुपियाँका दरले व्यापारीले खरिद गरेका थिए। यहाँको सुन्तला सुर्खेत–नेपालगञ्जका व्यापारीले खरिद गरेर लैजाने गरेका छन्। 

दुई सय बोट सुन्तला भएका कालभैरवकै किसान प्रकाश भण्डारीले यो वर्ष सुन्तला बाक्लै फलेको र रसिलो भएको जानकारी दिनुभयो। उहाँले सुन्तला खेतीबाट वर्षमा चार लाख रुपियाँको हाराहारीमा कमाइ हुने गरेको बताउनुभयो। 

आवश्यक प्राविधिक परामर्श नहुँदा उत्पादन सोचेजस्तो भने हुन नसकेको किसानले बताएका छन्। दुल्लुलाई सुन्तला जोनका रूपमा घोषणा गरिए पनि वास्तविक किसान निकै कम मात्रै समेटिएको गुनासो स्थानीयवासीको छ। व्यावसायिक रूपमा फलफूल खेती गर्दै आइरहनुभएकी दुल्लू नगरपालिका–१० की रमा शाहीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइबाट आर्थिक सहयोग प्राप्त गर्नुभएको छ। सिँचाइका लागि पोखरी निर्माण र कृषि औजारलगायतका सामग्री अनुदान पाएको शाहीले बताउनुभयो। 

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना एकाइ दुल्लु सुन्तला जोन परियोजनाका अधिकृत गणेशकुमार केसीले यो वर्ष सुन्तला जोनको क्षेत्र विस्तार गरिने जानकारी दिनुभयो। उहाँका अनुसार दुल्लू नगरपालिकाका १३ वटै वडा र भैरवी गाउँपालिकाका वडा नं. ३ देखि ७ सम्मलाई सुन्तला जोनका रूपमा विकास गर्न लागिएको हो।

दुल्लुमा हाल ६८९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ। यहाँ प्रतिहेक्टर १२ टन सुन्तला उत्पादन हुने गरेको छ। गत वर्ष सुन्तला जोन कार्यक्रम लागू भएको क्षेत्रमा वार्षिक सात हजार ५८० टन उत्पादन हुन्छ। यो वर्ष उक्त परियोजनाअन्तर्गत ३३ लाख रुपियाँ बजेट छुट्याइएको छ। यसै वर्षदेखि ३३ हेक्टर क्षेत्रफल बढाउने योजना रहेको केसीले बताउनुभयो। सो कार्यक्रमले साना सिँचाइ, बगैँचा सुधार, कृषि यान्त्रिकीकरण, गे्रडिङ मेसिन खरिद, रोग र कीरा निदान र प्राङ्गारिक मल उत्पादनमा किसानलाई सघाइरहेको छ। कृषि विकास कार्यालय, सल्यानका प्रमुख भरतबहादुर बस्नेतले यसपालि सुन्तला उत्पादन अघिल्ला वर्षभन्दा धेरै हुने बताउनुभयो।