• १६ असार २०८१, आइतबार

‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’

blog

काठमाडौं, मङ्सिर ४ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज (आइतबार) देशभर मतदान भइरहेको छ । मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो हुनसक्छ ।

देशभरको मौसम सामान्यतया सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न पाउने जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले आज देशैभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिनुभयो ।

“आज देशभरको मौसम सफा छ । हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ, तर, त्यति धेरै असर हुने देखिँदैन । महाशाखाले आज दिनभरको मौसम सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न आग्रह गरेको छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । प्रदेश १, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफल रहनेछ । सोही प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आज काठमाडौंका न्यूनतम आठ दशमलव आठ र अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस छ ।