• २५ वैशाख २०८१, मङ्गलबार

कतारमा आप्रवासी कामदारको विषय पश्चिमा मिडियाले उठाएको फन्डा : इन्फान्टिनो

blog

पत्रकार सम्मेलनमा बोल्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले । तस्बिर : फिफा

काठमाडौं, मङ्सिर ३ गते । विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफा विश्वकप २०२२ को विषयमा कतारमा यसअघि आप्रवासी कामदारको विषयमा पश्चिमा मिडियाले उठाएको एकोहोरो आलोचना केवल ‘फन्डा’ मात्र भएको बताउनुभएको छ ।

कतारमा आइतबारदेखि सुरु हुने विश्वकप फुटबलअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्टिनोले कामदारको अवस्थाबारे अध्ययन गर्ने मानव अधिकारवादी संस्थाहरुले नै कतारको प्रशंसा गर्दै रिपोर्ट निकालेको बताउनुभयो । 

‘‘पश्चिमा मिडियाले यहाँको राम्रो विषयको चर्चा गरेको मैले कतै देखेको छैन । पश्चिमा देशमा पनि अाप्रवासी कामदार धेरै छन् । तर उनीहरुको विषयमा चर्चा गरिएको छैन । कतारमा तलब समान नहोला तर कामदारको सुरक्षा र काम गर्ने वातावरण राम्रो रहेको तथ्याङ्क पनि मैले पाएको छु । यो कतार विश्वकपको आलोचना गर्ने समय होइन । यसलाई सफल पार्नु हामी सबैको उत्तरदायित्व हो,’’ इन्फान्टिनोले भन्नुभयो । उहाँले यसअघि आफूलाई विभिन्न स्थानबाट पटक पटक बोल्न आग्रह गरिए पनि आफूले अन्तिम समयमा आएर सही बोलिरहेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो,‘‘पछिल्लो समय यता म शान्त थिएँ । तर विश्वकप सुरु हुनुअघि मलाई केही बोल्नुपर्छ जस्तो लागेको छ । मैले आज अरब, अफ्रिकी देश, आप्रवासी कामदार  समलिङ्गीलाई महसुस गरिरहेको छु । मेरो देश स्वीट्जरल्यान्ड र मेरो परिवारमा पनि आप्रवासी कामदार थिए । कतारमा होइन स्वीट्जरल्यान्डमा पनि धेरै आप्रवासी थिए । मुख्य कुरा युरोपको कुरा मिडियाले किन उठाएनन् भन्ने हो ।’’ 

आफूले फिफा अध्यक्ष बन्नासाथ कतार भ्रमण गरेको र केही अवस्था ठीक नदेखेर सुधार्न लगाएको पनि इन्फान्टिनोले बताउनुभयो । ‘‘राम्रो कामको आलोचना मात्र हुनु नराम्रो पक्ष हो । आयोजक कतार, फिफा, फुटबल र विश्वकपले कामदारको बारेमा सोचेको छ । सबैतिरको आलोचनाले कतारले गरेको राम्रो कामलाई छोपेको छ । सन् २०१६  यता कतारमा आमूल परिवर्तन भएका छन् । कतारका श्रममन्त्री आफैंले मसँग कानुन अनुसार कसैले बीमा रकम प्राप्त गरेको छैन नियमसम्मत सबैलाई प्राप्त गर्न जानकारीसमेत दिनुभएको छ,’’ इन्फान्टिनोले भन्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय लेबर सङैघ (आइएलओ) सँग सहकार्य गरेर भविष्यमा आयोजना हुने विश्वकप स्थलमा कामदारका लागि राम्रो अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्टिनोले फिफा विश्वकप दुई सय ११ वटै देशकै पर्व भएकोले सबै वर्ग र सम्प्रदायलाई कतारमा स्वागत रहेको बताउनुभयो ।

‘‘कतारमा हामी सबैलाई स्वागत गर्दछौं । यहाँ सबै धर्म, जाति, लिङ्गलाई स्वागत छ । कतारले पनि यसलाई स्वीकार गरेको छ । हामी सबै फुटबलको राम्रो चाहन्छौं । हामी विश्वलाई एक पार्न चाहन्छौं । विश्वभर फुटबल फैलाउन चाहन्छौं । उहाँले भन्नुभयो, ‘‘विश्वकप सफल पार्न विश्वका सबैले साथ दिन आवश्यक छ ।’’ एजेन्सी