• २० वैशाख २०८१, बिहिबार

निर्वाचन सुरक्षा

नेपाल भारत सीमा क्षेत्रमा संयुक्त गस्ती (फोटो फिचर)

blog

निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सिमानाको दशगजा क्षेत्रमा संयुक्त गस्ती गर्दै नेपाल र भारतका सुरक्षाकर्मीहरू । तस्बिर : सिराज खान

नेपालगन्ज, मङ्सिर ३ गते । मङ्सिर ४ गते भोलि हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सुरक्षाका लागि बाँकेस्थित नेपाल–भारत सिमानाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । 

निर्वाचनको बेला सीमा वारि र पारिबाट हुनसक्ने कुनै पनि गैर कानुनी गतिविधि रोक्न दुवै देशका सुरक्षाकर्मीहरू मिलेर संयुक्त गस्ती गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका प्रमुख एसपी जनक बस्नेतले बताउनुभयो । 


उहाँले नेपाल र भारतका सुरक्षाकर्मीहरूले सिमानाको जमुनाहा गेटदेखि पश्चिम सुख्खा बन्दरगाह क्षेत्र र सो अगाडि साईगाउँसम्म र पूर्वी क्षेत्रको बघौडाका नाकाहरूमा संयुक्त गस्ती गरिरहेको जनाउनुभयो । 

सो गस्ती जिल्लाको ६५ किलोमिटर पर्ने खुला सिमानाको सबै ठाउँमा भइरहेको जनाउँदै एसपी बस्नेतले गस्ती सुरु गरिएपछि नाकामा सुरक्षा व्यवस्था सुदृढ भएको बताउनुभयो । निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर नेपालगन्जको मुख्य नाका बिहीबार रातिबाटै पूर्ण रूपमा ७२ घण्टाका लागि बन्द गरिएको छ भने मदिरा पनि पूर्ण रूपमा निषेध गरिएको छ । 


निर्वाचन सम्पन्न भएर मतगणना पूरा नभएसम्म दुवै देशका सुरक्षाकर्मीले नाकामा संयुक्त गस्ती गर्नुका साथै नाकामा कडाइ गरिने बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो । उहाँले भारतमा निर्वाचन हुने बेला पनि यसरी नै दुवै देशका सुरक्षाकर्मीले मिलेर संयुक्त रूपमा गस्ती गर्दै आएको बताउनुभयो । 

खुला सीमाना कारण अवैध हात हतियार भित्रिन सक्ने तथा निर्वाचनलाई प्रभावित पार्न भारतबाट पेशेवर अपराधीलाई बोलाउन सकिने वा त्यस्ता अपराधी आफैँ आउने सम्भावना अत्यधिक रहेकोले नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

तस्बिर : सिराज खान 

Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।