• ११ मंसिर २०८१, मङ्गलबार

उम्मेदवारको पोस्ट सेयर गर्दा मतदान अधिकृत जिम्मेवारीमुक्त

blog

मतदान स्थलतर्फ जाँदै गरेका सुरक्षाकर्मी र कर्मचारी ।

अमृतप्रसाद पौडेल/साधन घर्ती

म्याग्दी, मङ्सिर ३ गते । म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले  जिम्मेवारीमुक्त गरेको छ। जिल्लाको धौलागिरि गाउँपालिका–५, मलमपारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नवीन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

मतदान अधिृकत कार्कीले प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार श्रेष्ठलाई जिताउन अपिल गरिएको डिजिटल पोस्टर आफ्नो फेसबुकमा सेयर गर्नुभएको भन्दै नेकपा (माओवादी केन्द्र)का ज्ञानेन्द्र सुवेदीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो। उजुरीको आधारमा कार्कीलाई स्पष्टीकरण मागेर जिम्मेवारीबाट मुक्त गरिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनुभयो। कार्कीलाई स्पष्टीकरणपछि जानकारी गराएर जिम्मेवारीबाट हटाइएको हो। 

मालिका गाउँपालिका–४ को ओखरबोट माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका कार्कीले निर्वाचन र मतदान अधिकृतको आचारसंहिताविपरीतको कार्य गरेपछि जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृत नेपालले बताउनुभयो।

कार्कीलाई हटाएर सोही केन्द्रका सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पौडेललाई मतदान अधिकृत बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो।

म्याग्दीका ८२ स्थानका ११९ मतदान केन्द्रमै सम्पूर्ण सामग्रीसहित कर्मचारी पुगिसकेका छन्। जिल्लाको धौलागिरी गाउँपालिका मुदीको बगर, धौलागिरि गाउँपालिकाकै गुर्जा र कुइने मङ्गलेमा यातायातको साधन पुग्दैन त्यसैले त्यस क्षेत्रको मतपेटिका ल्याउनका लागि यातायातको पहुँच नपुग्ने हुँदा निर्वाचन आयोगमा हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने देखिएको भन्दै जानकारी गराइएको सहायक निर्वाचन अधिकृत पौडेलले बताउनुभयो। 

जोखिम मोलेर पुगे कर्मचारी 

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीदेखि टाढा रहेका केन्द्रहरूमा पनि निर्वाचनका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी पुगेका छन्। सबैभन्दा टाढा रहेको धौलागिरि गाउँपालिका–१ को गुर्जा र वडा नं. ४ मुदी बगरमा मतदानका लागि सम्पूर्ण सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी पुगेका हुन्। कात्तिक २९ गते सामग्री बुझेर बेनी–दरबाङ सडकखण्डको दरबाङ र त्यसपछि दरबाङ–मुना सडकखण्डको मुना पुगेर बास बसेका कर्मचारी लुलाङको लमसुङबाट नौ घण्टा लामो पैदल यात्रा छिचोलेर गुर्जा पुगेका हुन्।

जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत अमृत सुवेदीलाई मतदान अधिकृत तोकेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले गुर्जाको कमान्ड सुम्पेको थियो। जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्र रहेको जिल्लाकै दुर्गम अनि दलित र जनजातिको बस्ती रहेको गुर्जामा पुग्नु युद्ध जितेभन्दा कम हुँदैन। विक र छन्त्यालको बसोबास रहेको गुर्जा पुग्न युद्धकै लागि गरेजस्तै तयारी गरेर बेनीबाट गाडीमा धौलागिरि गाउँपालिका लुलाङको लमसुङमा पुगेका सुवेदीको टोलीले मङ्सिर १ गते बिहान झिसमिसे उज्यालो हुँदै गर्दा ६:१५ बजे गुर्जाका लागि यात्रा थालेको थियो। 

अनकन्टार जङ्गलको बाटो हुँदै असई क्षितिज केसी कमान्डको सुरक्षाकर्मी र अमृत सुवेदी कमान्डको निर्वाचन टोली बेलुका ३ः४५ बजे मात्रै गुर्जा पुगेका थिए। लगातार झन्डै नौ घण्टा जङ्गलभित्रको यात्रा गर्ने क्रममा तीन हजार २८५ मिटरको उचाइमा पर्ने देउराली डाँडा पुगेर पुनः ओरालो अनि उकालो यात्रा तय गरेर दुई हजार आठ सय मिटर उचाइको गुर्जामा टोली पुगेको थियो।

धौलागिरि गाउँपालिकाकै दुर्गम क्षेत्रमध्येको अर्को स्थान हो धौलागिरि गाउँपालिका–४, मुदीको बगर। राउन्ड धौलागिरि पदमार्गमा पर्ने बगर क्षेत्रमा पनि मतदान कर्मचारीले सात घण्टा लामो पैदल यात्रा तय गरेर पुगेका छन्। मतदान अधिकृत धौलागिरि गाउँपालिकाका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालको टोली ३० गते बेनीदेखि मुदीसम्म रिजर्भ गाडी लिएर लागेको थियो। मुदीको नाउरा पुगेर बास बसी मङ्सिर १ गते बिहानै हिँडेको टोली चार घण्टाको पैदल यात्रापछि २५ सय मिटरको उचाइमा रहेको बगरस्थित कैलाश आधारभूत विद्यालय मतदान केन्द्रमा पुग्यो। सो केन्द्रमा १५७ जना मतदाता छन्। यस पटक थप गरिएको उक्त मतदान केन्द्रका मतदाताले यस अगाडि भने मतदानको अघिल्लो दिन नै मुदीमा बास बस्न पुगेर मतदान गरेर फर्कने गर्दथे।

बगर मतदान केन्द्रदेखि एक घण्टाको पैदल यात्रा गरेर डाँडामा पुगेपछि मात्रै मोबाइल डाटाको प्रयोग गरेर अपडेट गराउन मिल्ने अवस्था रहेको मतदान अधिकृत छन्त्यालको भनाइ छ।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालका अनुसार जिल्लाका ८२ स्थानका ११९ मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्रमा समेत निर्वाचन सामग्रीसहित सबै कर्मचारी पुगिसकेका छन्। जिल्लाभित्र रहेका १२० मतदान केन्द्रमध्ये मुदीको बगर, गुर्जा र कुइने मङ्गलेको मतदान केन्द्रमा यातायातको साधन पुग्दैन। उक्त तीनवटा मतदान केन्द्रबाट क्षेत्रको मतपेटिका ल्याउनका लागि यातायातको पहुँच नपुग्ने हुँदा निर्वाचन आयोगमा हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने देखिएको भन्दै जानकारी गराइएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो।