• १३ साउन २०८१, आइतबार

किल्ला ढाल्ने र जोगाउने कसरत

blog

कमल शर्मा

दैलेख, मङसिर १ गते । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा रहेका राजनीतिक पार्टी आफ्नो पक्षमा मत माग्न घरदैलो अभियानमा व्यस्त छन् । एकै दिन जिल्लाका विभिन्न भूभागमा पुगेर चुनावी सभा र भेटघाटलाई तीव्रता दिँदै आएका छन् । जिल्लामा रहेका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा सत्ता गठबन्धन र नेकपा एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्लाका दुवै प्रतिनिधि सभा र प्रदेश सभामा अङ्कगणितमा अगाडि देखिएको सत्ता गठबन्धन विजय सुनिश्चित गर्न लागिपरेको छ भने नेकपा (एमाले) आफ्नो विरासत जोगाउने कसरतमा लागेको छ । २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा दुई क्षेत्रमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले एक÷एकवटा निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेका थिए । 

२०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचन दुईवटै क्षेत्र र २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुईवटा प्रतिनिधि सभा र चार प्रदेश सभा एमालेले जितेको थियो । पहिलो संविधान सभामा मध्यपश्चिमका १५ जिल्लामध्ये एउटा मात्र संविधान सभा सदस्य दैलेखबाट जितेको कांग्रेसले त्यसयताका निर्वाचनमा पराजय भोग्दै आएको छ ।

दैलेख निर्वाचन क्षेत्र नं. १ मा सत्ता गठबन्धन दलबाट एकीकृत समाजवादी पार्टीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापा र नेकपा (एमाले)का रवीन्द्रराज शर्मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका थापा सत्ता गठबन्धनबाहेक एमालेका मतसमेत लिएर जित्ने दाउमा हुँदा एमालेका रवीन्द्रराज शर्मा भने कांग्रेसको उम्मेदवार नभएका कारण कांग्रेसका मत लिएर निर्वाचन जित्ने दाउमा रहनुभएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)बाट लक्ष्मीप्रसाद पोखरेलसँग सत्ता गठबन्धन दल नेपाली कांग्रेसका दिक्पालकुमार शाही चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँ २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा एमालेका राजबहादुर शाहीसँग पराजित हुनुभएको थियो । दैलेख निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क)मा नेकपा (एमाले)का धर्मराज रेग्मीसँग नेपाली कांग्रेसका पूर्णबहादुर खत्री चुनावी मैदानमा हुनुहुन्छ । रेग्मी नेकपा हुँदा माओवादी केन्द्रबाट टिकट पाएर २०७४ को प्रदेश सभा सदस्यमा निर्वाचनमा विजयी हुनुभएको थियो ।

उहाँले नेपाली कांग्रेसका कृष्णकुमार बीसीलाई पराजित गर्नुभएको थियो । त्यस्तै प्रदेश सभा (ख)मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णकुमार बीसीसँग एमालेका प्रेमबहादुर थापा चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । मतदाताका बीच प्रेमबहादुर थापा नयाँ अनुहार हुनुहुन्छ भने कृष्ण बीसी एक पटक पराजित भइसक्नुभएको छ ।

दैलेख निर्वाचन क्षेत्र नं. २ को (क) प्रदेशमा एमालेबाट तिलकप्रसाद रिजालसँग सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका घनश्याम भण्डारी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरू प्रदेश सभाका लागि दुवै नयाँ अनुहार हुनुहुन्छ । २०४९ सालको निर्वाचनमा दुल्लु गाविसको अध्यक्ष भएर काम गर्नुभएका रिजाल र २०७४ सालको स्थानीय निर्वाचनमा दुल्लु नगरपालिकाको नगरप्रमुख भएर काम गर्नुभएका भण्डारीबीचको प्रतिस्पर्धा रोचक बन्दै छ । त्यस्तै प्रदेश सभा (ख)मा एमालेका विनोदकुमार शाह र सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका योगेन्द्र शाहीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । उहाँहरू समेत प्रदेश सभाका लागि नयाँ अनुहार हुनुहुन्छ । सत्ता गठबन्धनका उम्मेदवारहरूले सत्ता गठबन्धन दलमा आबद्ध सबै दल इमानदार भएको खण्डमा जिल्लाका दुईवटै प्रतिनिधि सभा र प्रदेश सभामा विजयी प्राप्त हुने बताइरहँदा नेकपा (एमाले) भने सत्ता गठबन्धन दलभित्र खेलेर त्यहाँबाट मत लिने र आफ्नो पुरानो विरासत कायम राख्ने कसरतमा छ ।