• १२ साउन २०८१, शनिबार

स्वास्थ्यकर्मीलाई निर्वाचनमा खटाउँदा बर्थिङ सेन्टर बन्द

blog

ध्यान कुलुङ 

सङ्खुवासभा, कात्तिक ३० गते  । सभा पोखरी गाउँपालिकाको बर्थिङ सेन्टरका कर्मचारी निर्वाचनमा खटिँदा सेवा प्रभावित भएको छ। पालिकाको दुईवटै बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीहरू निर्वाचनमा खटाइएपछि एक हप्तासम्म सेवा बन्द हुने भएको हो। 

कात्तिक ३० देखि मङ्सिर ६ गतेसम्म दुवै बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी निर्वाचनमा खटाइएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य संस्थाहरूबाट दिइने सेवा बन्द भएकोले जिल्ला अस्पताल खाँदबारी जानुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले जानकारी दिनुभयो। 

गाउँपालिकामा रहेको एम्बुलेन्स र गाडी उपलब्ध गराइने अधिकृत आचार्यले बताउनुभयो। पालिकाको केन्द्रसम्म रहेको बाह्रबिसे बर्थिङ सेन्टरबाट जिल्ला अस्पताल पुग्न करिब साढे दुई घण्टा लाग्छ। अर्को धुपु बर्थिङ सेन्टरबाट  करिब एक घण्टा लाग्ने गरेको छ। अत्यावश्यक सेवा बन्द गरिएपछि स्थानीयले गाउँपालिकाको आलोचना गर्न गरेका छन्। निर्वाचनमा अन्य क्षेत्रका कर्मचारी मात्र खटाएर स्वास्थ्य क्षेत्रको सेवा प्रभावित पार्न नहुने सभा पोखरी–६, बाह्रबिसेका अनुप चापागाईंको भनाइ छ। यस विषयमा कर्मचारी सिफारिस गर्ने गाउँपालिका र खटाउने जिल्ला निर्वाचन कार्यालय संवेदनशील हुनुपर्ने चापागाईंको भनाइ छ।

निर्वाचन परिचालन कार्यविधिअनुसार सम्बन्धित कार्यालयले खटाउन सकिने र नसकिने कर्मचारीहरूको विवरण मागिएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका निमित्त प्रमुख रामेश्वर निरौलाले जानकारी दिनुभयो। सभा पोखरी गाउँपालिकाको बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीहरू पनि निर्वाचनमा खटाउन सकिने सूचीमा प्राप्त भएकोले सोहीअनुसार जिम्मेवारी दिइएको निरौलाले जानकारी दिनुभयो। निर्वाचनमा खटाउँदा आफूहरूलाई अत्यावश्यक सेवा क्षेत्रको कर्मचारी रहेको समेत थाहा नभएको निरौलाले जानकारी दिनुभयो। उनीहरूले तालिम लिई सेवा क्षेत्रमा खटिसकेकोले फिर्ता बोलाउन नसकिने निरौलाले स्पष्ट पानुभयो।