काठमाडौं, कात्तिक २८ गते । काठमाडौं उपत्यकामा जम्मा एक हजार सात सय ट्राफिक प्रहरी रहेकामा अहिले चार सय मात्रै बाँकी छन् । एक हजार तीन सय ट्राफिक प्रहरी उपत्यका बाहिर गएपछि म्यादीको सहयोगमा उपत्यकाको सडक व्यवस्थापन हुँदै आएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
प्रवक्ता भट्टका अनुसार, ट्राफिक प्रहरीको सङ्ख्या कम भएपछि आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी तयार गरिएका म्यादी प्रहरीहरू अहिले ट्राफिक प्रहरीसँग सडक व्यवस्थापनमा खटिएका छन् ।
“निर्वाचन लक्षित एक हजार तीन सय ट्राफिक प्रहरी उपत्यका बाहिर गएको छ,” प्रवक्ता भट्टले भन्नुभयो, “म्यादी प्रहरीको सहयोगमा व्यवस्थापन गरिरहेका छौँ ।” काठमाडौं उपत्यकामा जम्मा एक हजार सात सय ट्राफिक प्रहरी छन् ।
म्यादी प्रहरीले जेब्राक्रसमा पैदल यात्रीलाई बाटो काट्न सहजीकरण गर्नुका साथै ट्राफिक प्रहरीसँग चोकमा समेत खटिएका छन् । अहिले उपत्यकाको सडकमा ट्राफिक जाम बढेको छ । ट्राफिक प्रहरी निर्वाचनमा खटिएर गएपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा असर परेको हो ।
अहिलेसम्म चुनावी गतिविधि जे–जे हुनुपर्ने हो त्यो शान्तिपूर्ण नै भएको छ, पार्टी–पार्टीबीच मेलमिलाप रहेको देखिएको छ ।
अहिले उपत्यकाको सडक जाम हुनुमा जनशक्ति कम रहेको ट्राफिक प्रहरी प्रवक्ता भट्टले बताउनुभयो । “ट्राफिक प्रहरी पनि निर्वाचनमा खटेर गएकाले जनशक्ति कम भएको हो,” उहाँले भन्नुभयो, “अहिले म्यादी प्रहरीको सहयोगमा सडक व्यवस्थापन गरिएको छ ।”
काठमाडौंको सडकमा देखिएको सवारी चाप ।
जनपथ प्रहरीले परिचालन गरेको म्यादी प्रहरीको सहयोगमा उपत्यकाको सडक व्यवस्थापन भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले काठमाडौं उपत्यकामा चार सयजना मात्र ट्राफिक प्रहरी परिचालित छन् ।”
सुरक्षा व्यवस्था शान्तिपूर्ण
प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नजिकिएसँगै निर्वाचन सुरक्षा व्यवस्थापन अहिलेसम्म शान्तिपूर्ण रहेको छ ।
निर्वाचन सुरक्षामा राजनीतिक दल, कार्यकर्ता मुख्य चुनौतीका रूपमा रहे पनि अहिलेसम्म निर्वाचन पूर्व हुनुपर्ने सबै गतिविधि शान्तिपूर्ण रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी सीताराम रिजालले बताउनुभयो । “निर्वाचन लक्षित शान्ति सुरक्षा व्यवस्थापनमा अहिलेसम्म कुनै चुनौती आएको छैन,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार, मङ्सिर ४ गते हुने निर्वाचन अब छ दिन मात्रै बाँकी छ । निर्वाचनमा होमिएका पक्ष–प्रतिपक्षबीच हुन सक्ने घटनाले सुरक्षा व्यवस्थापनमा चुनौती थपिने देखिन्छ । “चुनावमा कस्तो सुरक्षा चुनौती हुन्छ, त्यसलाई विश्लेषण गरेर आवश्यक मात्रमा जनशक्ति परिचालन गरेका छौँ, म्यादी प्रहरी पनि परिचालित गरेका छौँ,” उहाँले भन्नुभयो ।
समग्रमा अहिलेसम्म काठमाडौं उपत्यकाको चुनावी गतिविधि शान्तिपूर्ण छ । “उपत्यकाको चुनावी गतिविधि शान्तिपूर्ण नै छ । प्रहरीको तयारी व्यापक छ,” उहाँले भन्नुभयो, “काठमाडौं उपत्यकाको तीन वटै जिल्लालाई दृष्टिगत गरी तीनै जिल्लाले केन्द्रीय सुरक्षा नीति तयार गरेर त्यहीअनुसार जनशक्ति वितरण गरेका छौँ ।” वितरण भएका जनशक्ति मतदान स्थलमा जाने काम हुँदैछ ।
काठमाडौं उपत्यकामा निरन्तर खटिने प्रहरीको सङ्ख्या तीन हजार पाँच सय माथि हुन्छ । अहिले म्यादी प्रहरीसहित पाँच हजार चार सयको हराहरीमा प्रहरी परिचालित रहेको प्रवक्ता रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “उपत्यकामा पाँच हजार चार सयको हराहरीमा प्रहरी परिचालित भइसकेका छन् ।” प्रहरीको विश्लेषणअनुसार उपत्यकामा चुनावी गतिविधि ठिकसँग चलिरहेको छ ।
त्यस्तो सूचना, नराम्रो गतिविधि प्रहरीकोमा अहिलेसम्म नआएको भन्दै प्रवक्ता रिजालले भन्नुभयो, “अहिलेसम्म चुनावी गतिविधि जे–जे हुनुपर्ने हो त्यो शान्तिपूर्ण नै भएको छ ।” अहिले पार्टी–पार्टीबीच मेलमिलाप रहेको देखिएको पनि उहाँले बताउनुभयो ।