• १९ असोज २०८१, शनिबार

निर्जीवन बीमा कम्पनीले आर्जन गरे एघार अर्ब शुल्क

blog

भेषराज बेल्बासे

काठमाडौँ, कात्तिक २८ गते । मुलुकमा सञ्चालित निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको असोज महिनासम्म झन्डै ११ अर्ब रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् ।

नियामक निकाय बीमा प्राधिकरणका अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीले छ लाख ८९ हजार ४६८ बीमालेख जारी गरेर १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपियाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको असोज महिनामा मात्रै दुई लाख ४४ हजार ९७ बीमालेख जारी गर्दै दुई अर्ब ९६ करोड सात लाख ९४ हजार रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् ।

निर्जीवन कम्पनीमध्ये सरकारी स्वामित्वको जेठो कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले सर्वाधिक एक अर्ब २६ करोड ४५ लाख १८ हजार रुपियाँ बराबरको बीमा शुल्क सङ्कलन गरेको छ । संस्थानले यो अवधिमा १० हजार २५५ बीमालेख जारी गरेको छ । बीमालेख जारी गरेको सङ्ख्याका आधारमा भने अरू धेरै कम्पनीको तुलनामा संस्था पछाडि देखिएको छ ।

संस्थानलाई पछ्याउँदै निजी क्षेत्रको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब दुई करोड ६९ हजार रुपियाँ बीमा शुल्क आर्जन गरेको छ । यद्यपि बीमा शुल्क सङ्कलन गरेको सङ्ख्याका हिसाबले राष्ट्रिय बीमा कम्पनीभन्दा अगाडि रहेको छ । शिखरले यो अवधिमा ६१ हजार ५८५ बीमालेख जारी गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राष्ट्रिय बीमा कम्पनीको व्यवसाय भने सर्वाधिक बढेको देखिएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतले वृद्धि गरेको हो । कम्पनीले अघिल्लो आवको असोज मसान्तसम्ममा ४४ करोड रुपियाँ मात्रै कुल बीमा शुल्क सङ्कलन गरेको थियो । गत आवको असोज महिनासम्मको तुलनामा छ कम्पनीको व्यवसायमा कमी आएको छ ।

जनरल इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेस्ट, सगरमाथा, प्रिमियर, एनएलजी र युनाइटेड इन्स्योरेन्सको व्यवसायमा कमी आएको छ । युनाइटेड इन्स्योरेन्सको बीमा शुल्क सर्वाधिक २६.५८ प्रतिशतले घटेर ३२ करोड ३१ लाख रुपियाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ४४ करोड दुई लाख रुपियाँ कुल बीमाशुल्क सङ्कलन गरेको थियो ।

बीमालेखमा बागमती अगाडि

कुल १९ वटा निर्जीवन कम्पनीले जारी गरेको बीमालेख सङ्ख्याका आधारमा बागमती प्रदेश अगाडि देखिएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम बीमालेख जारी भएको छ । कम्पनीले देशभर जारी गरेको कुल छ लाख ८९ हजार ४६८ बीमालेखमध्ये बागमती प्रदेशमा मात्रै तीन लाख २९ हजार ६६५ बीमालेख जारी भएको छ ।

प्रदेशगत हिसाबले हेर्दा लुम्बिनी प्रदेशमा एक लाख पाँच हजार २३५ बीमालेख जारी भएर दोस्रो स्थानमा परेको छ भने प्रदेश १ मा ८२ हजार ६४९ बीमालेख जारी भएर तेस्रो स्थानमा परेको छ । यस्तै गण्डकी प्रदेशमा ६९ हजार ८०४ बीमालेख जारी भएको छ भने मधेश प्रदेशमा ५७ हजार २९ बीमालेख जारी भएको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा कम ११ हजार ४१८ बीमालेख जारी भएको छ भने सुदूरपश्चिम प्रदेशमा ३३ हजार ६६८ बीमालेख जारी भएको छ ।

बीमालेखबाट सङ्कलन भएको बीमा शुल्कका आधारमा पनि बागमती प्रदेश सर्वाधिक अगाडि देखिएको छ । कुल बीमा शुल्क १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपियाँमा सात अर्ब ३२ करोड २१ लाख ९१ हजार रुपियाँ बराबरको बीमा शुल्क बागमती प्रदेशमा जारी भएको छ । 

बीमा शुल्ककै रकमका आधारमा लुम्बिनी प्रदेशमा ९८ करोड ३८ लाख १७ हजार रुपियाँ, प्रदेश १ मा ९१ करोड ३८ लाख ७७ हजार रुपियाँ, मधेश प्रदेशमा ६५ करोड ७९ लाख ५० हजार रुपियाँ, गण्डकी प्रदेशमा ६१ करोड २८ लाख ४३ हजार रुपियाँ, सुदूरपश्चिम प्रदेशमा २५ करोड ८० लाख ३३ हजार रुपियाँ र कर्णाली प्रदेशमा सबैभन्दा कम नौ करोड ३७ लाख ४२ हजार रुपियाँ बराबरको बीमाशुल्क सङ्कलन भएको छ ।

लघुबीमा पनि न्यून

निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको असोज मसान्तसम्म कुल छ लाख ८९ हजार ४६८ बीमालेखमध्ये केवल नौ हजार ४१३ मात्रै बीमालेख जारी गरेका छन् ।

सोही अवधिमा कम्पनीहरूले दुई करोड आठ लाख ९१ हजार रुपियाँ मात्रै लघुबीमाबापत बीमा शुल्क आर्जन गरेका छन् ।