• १३ साउन २०८१, आइतबार

सुर्खेतमा चुनावी सरगर्मी

blog

नवीन सुवेदी

सुर्खेत, कात्तिक २७ गते । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कर्णालीमा सत्ता गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुँदै छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत जिल्लामा प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार क्षेत्र रहेका छन्। 

सुर्खेत क्षेत्र नं. १ मा प्रतिनिधि सभामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उम्मेदवार हुनुहुन्छ। २०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल भएको थियो। सो निर्वाचनमा खड्का नेकपा (एमाले)का धु्रवकुमार शाहीसँग तीन हजार मतान्तरले पराजित हुनुभएको थियो। 

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत परिणाम हेर्ने हो भने सुर्खेत क्षेत्र नं. १ मा कांग्रेसको बलियो उपस्थिति देखिन्छ। स्थानीय तहको वडाको मतलाई आधार मान्ने हो भने सुर्खेत नं. १ मा कांग्रेस पहिलो शक्ति देखिन्छ। स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षले ३६ हजार ९२८ मत प्राप्त गरेको थियो। त्यस्तै स्थानीय तहको निर्वाचनको हिसाबमा नेकपा (एमाले)को दोस्रो मत छ। नेकपा (एमाले)ले ३४ हजार ८४३ मत प्राप्त गरेको छ। यसैगरी नेकपा (माओवादी केन्द्र)ले पाँच हजार ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६६४ मत प्राप्त गरेको छ। नेकपा (एकीकृत समाजवादी)ले ६३४ मत प्राप्त गरेको छ । यो मत परिणामलाई हेर्ने हो भने सत्ता गठबन्धनसँग ४२ हजार ६३७ मत देखिन्छ। यद्यपि स्थानीय निर्वाचन र सङ्घीय तथा प्रदेश निर्वाचन जनप्रतिनिधि छनोटका हिसाबले फरक महत्व र अर्थ राख्छ। 

स्थानीय तह निर्वाचनमा लेकबेँसी नगरपालिका, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिकामा कांग्रेस र माओवादीले गठबन्धन बनाएर चुनावमा गएका थिए। यो क्षेत्रका दुई प्रदेश सभातर्फ प्रदेश १ (क)मा नेपाली कांग्रेसका खड्कबहादुर पोखरेल र (ख)मा माओवादीका कृष्ण जीसी उम्मेदवार हुनुहुन्छ। त्यस्तै नेकपा (एमाले)बाट (क)मा ठम्मर विष्ट र (ख)मा डण्डिप्रसाद शर्मा उम्मेदवार हुनुहुन्छ। 

पोखरेललाई माओवादीका कारण चुनाव जित्न सहज भएको आकलन गरिन्छ। त्यस्तै जीसीका लागि कांग्रेसका आस्थावान् मतदाता निर्णायक मानिन्छ। स्थानीय तहको निर्वाचनमा चिङ्गाड गाउँपालिकामा कांग्रेसलाई हराउन लागेको भन्दै माओवादीप्रति कांग्रेस असन्तुष्ट छन्। 

यस्तै सुर्खेत नं. २ मा प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार रहँदा प्रदेशतर्फ माओवादी र कांग्रेसका उम्मेदवार हुनुहुन्छ। कांग्रेसका हृदयराम थानी प्रतिनिधि सभा उम्मेदवार हुनुहुन्छ। प्रदेश २ (क)मा कांग्रेसका कालीप्रसाद शाक्य र २ (ख)मा माओवादीका विन्दमान विष्ट उम्मेदवार हुनुहुन्छ। यस्तै प्रतिनिधि सभामा एमालेका अमृत बीसी र प्रदेश सभामा २ (क) यामलाल कँडेल २ (ख)मा ताराकेशर गौतम उम्मेदवार हुनुहुन्छ। प्रतिनिधि सभामा गठबन्धनलाई सघाउने तर प्रदेश सभामा मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै समाजवादीले क्षेत्र नं. २ प्रदेश सभातर्फ दुवै क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ। समाजवादीले २ (क)मा शिवप्रसाद उपाध्याय र (ख)मा जिल्ला अध्यक्ष मोहनसिंह बडुवाललाई उम्मेदवार बनाएको छ। 

दुवै क्षेत्रमा गठबन्धनबाटै बागी उम्मेदवारी परेपछि प्रदेश सभामा रोचक चुनावी भिडन्त हुँदै छ। स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)ले पाएको मत १६ हजार ३८ छ। कांग्रेसले १५ हजार ४८४ पाएको छ। यद्यपि, वडाको मतलाई आधार मान्ने हो भने १४ वडामध्ये पाँच वडा जितेको कांग्रेससँग १६ हजार १६३ मत छ। १० वटा वडा जितेको एमालेसँग १८ हजार ६१५ मत छ। यस्तै माओवादीसँग तीन हजार ५५८ मत छ। यहाँ माओवादी–कांग्रेसको मत जोड्दा १९ हजार ७२१ हुन्छ। वीरेन्द्रनगर नगरपालिकामा गठबन्धन गरेका माओवादी र कांग्रेसले हार बेहोर्नु परेको थियो। तत्कालीन समयमा टिकट वितरणलाई लिएर कांग्रेसभित्रको गुटबन्धीले संस्थापनइतर पक्षको असहयोगका कारण कांग्रेंसले प्रमुखमा झिनो मतान्तरले पराजित हुँदा माओवादीले उपप्रमुखमा कांग्रेसले पाएको मतको आधा पनि प्राप्त गर्न सकेको थिएन। गठबन्धन भएकै कारण कांग्रेसलाई सुर्खेतमा चुनाव जित्न सजिलो देखिए पनि माओवादीका उम्मेदवार भने कांग्रेसबाट नै असुरक्षित छन्। प्रतिनिधि सभामा उम्मेदवार बनेका हृदयराम थानी २०७४ को निर्वाचनमा एमालेका नवराज रावतसँग पराजित हुनुभएको थियो। पूर्वसहकारीमन्त्रीसमेत रहनुभएका थानीलाई सहकारीकर्मी रहेका एमालेका नयाँ अनुहार अमृत बीसीले चुनौती दिँदै हुनुहुन्छ।  

स्थानीय तहको मतपरिणामलाई हेरेर कतिपयले थानीलाई चुनाव जित्न सहज अनुमान गर्दै छन्। माओवादी र कांग्रेसको जम्मा मत ४१ हजार ३६६ छ। गठबन्धनलाई चुनाव जित्न सहज हुने अर्को पक्ष कांग्रेसभित्रको सन्तुलन हो। टिकट वितरणमा स्थानीय तहको निर्वाचनमा रुष्ट भएको टिमलाई प्रतिनिधि सभाको उम्मेदवार बनाइएपछि तत्कालका लागि कांग्रेसको आन्तरिक किचलो अन्त्य भएको नेताले दाबी गर्दै आएका छन्। यस्तै स्थानीय तहमा एमालेका वडाध्यक्षले पाएको मत ३० हजार ४६९ हो। बीसीको मुख्य चुनौती एमालेका साङ्गठनिक भोट जोगाउनु र गठबन्धनभित्र खेल्नु हो। यस्तै प्रदेश सभा (क)मा गठबन्धनको तर्फबाट कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा (एमाले)का यामलाल कँडेलबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिन्छ। २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा चुनावी भिडन्त गरेका शाक्य र कँडेल तीन दशकपछि पुनः चुनावी मैदानमा हुनुहुन्छ। कँडेल यसअघि २०७४ को प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। 

शाक्य कांग्रेसका पुराना नेता हुनुहुन्छ। पार्टीभित्र समन्वयकारी भूमिका निर्वाह गर्दै आउनुभएका शाक्य गठबन्धनको बलमा बाजी मार्ने दाउमा हुनुहुन्छ। यद्यपि कँडेलले चुनाव जित्ने मुख्य आधार बलियो सङ्गठन र लोकप्रियता भएको अनुमान गरिन्छ। कँडेलको अर्को चुनौती समाजवादीका शिवप्रसाद उपाध्याय हुनुहुन्छ। तत्कालीन नेकपा (एमाले) भित्र विद्रोही छवि बनाएका उपाध्यायले कँडेलविरुद्ध दुई पटक बागी लडेर हराइसक्नुभएको छ। एमाले फुटपछि बनेको समाजवादीमा लागेका उपाध्याय तेस्रो पटक कँडेलको चुनौती बनेर देखा पर्नुभएको हो। यस्तै प्रदेश सभा (ख)मा यसपालि दुई पूर्वसहकर्मी र गठबन्धनबीच रोचक प्रधिस्पर्धा हुने भएको छ। 

नेकपा (एमाले)का ताराकेशर गौतम र नेकपा एकीकृत समाजवादीका मोहनसिंह बडुवाल चुनावी मैदानमा हुनुहुन्छ। उहाँहरू कुनै समय एउटै पार्टीमा सहकर्मीका रूपमा थिए। सत्ता गठबन्धनका तर्फबाट माओवादीका विन्दमान विष्ट चुनावी मैदानमा हुनुहुन्छ। तुलनात्मक रूपमा यो क्षेत्रमा पनि गठबन्धन बलियो हुँदा मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै समाजवादीका बडुवालले उम्मेदवारी दिएपछि गौतम र विष्ट रेड जोनमा पर्नुभएको छ। बडुवाललाई भेगीय र लोकप्रिय मत आउने आकलन गरिएको छ। उहाँले एमाले मात्रै होइन गठबन्धनकै ठूलो सङ्ख्यामा मत काट्ने बताइएको छ। 

यस्तै एमालेका गौतमलाई विष्ट र बडुवाल नै भारी हुने देखिन्छ। एमालेमा रहँदा राम्रो जनाधार बनाएका बडुवालले काट्ने एमालेका भोट नै गौतमका निर्णायक मत हुन्। बडुवालले गठवन्धनका ठूलो सङ्ख्यामा मत काट्दा गौतमले एमालेका साङ्गठनिक मत मात्रै जोगाउन सके प्रमुख शक्तिका रूपमा उदाउन सक्ने विश्लेषणसमेत हुन थालेका छन् तर यसो नहुन पनि सक्छ।