• १० मंसिर २०८१, सोमबार

फिफा विश्वकप २०२२ : धमाधम टोलीको घोषणा हुँदै

blog

स्केच : फिफा ।

काठमाडौं, कात्तिक २६ गते । कतारमा मङ्सिर ४ गतेदेखि सुरु हुने २२औँ संस्करणको फिफा विश्वकप फुटबलका लागि सहभागी देशले धमाधम आफ्नो खेलाडी टोलीको घोषणा गरिरहेका छन् । कतिपय देशले खेलाडी टोलीको अन्तिम नाम सार्वजनिक गरिसकेका छन् । 

विश्वकपमा लागि अर्जेन्टिनाले शुक्रबार राति प्रभावशाली खेलाडी लियोनल मेस्सीको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गरेको हो । ३५ वर्षीय मेस्सीका लागि यो अन्तिम विश्वकप हुने बताइएको छ ।

अर्जेन्टिना टोलीको गोलरक्षकमा एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली र फ्रान्सकाे अर्मानी हुनुहुन्छ । रक्षकमा नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको र जान फोयथ हुनुहुन्छ । 

यस्तै मिडफिल्डरमा रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज र एजेक्वेल पालासिओस हुनुहुन्छ । स्ट्राइकरमा मेस्सीसँगै एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोआक्विन कोरिया र पाउलो डिबाला हुनुहुन्छ । 

अर्जेन्टिना विश्वकपमा समूह ‘सी’ बाट प्रतिस्पर्धा गर्दैछ । समूह ‘सी’ मा अर्जेन्टिनासँगै मेक्सिको, पोल्याण्ड र साउदी अरब छन् । अर्जेन्टिनाले नोभेम्बर २२ तारिख साउदी अरबसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

यसैगरी विश्वकप आयोजक कतारले पनि शुक्रबार मात्र २६ सदस्यीय टोलीको घोषणा गरेको छ । कतारी टोलीको गोलरक्षमा साद अलसिब, मेसाल बर्साम र युसेफ हसन हुनुहुन्छ । रक्षकमा पेड्रो मिगुएल, मुसाब खिदिर, तारेक सलमान, बसम अल रावी, बोउलेम खाउखी, अब्देल करिम हसन, होमाम अहमद र जसम गाबेर हुनुहुन्छ । 

मिडफिल्डरमा अली असद, असिम मोदीबो, मोहम्मद वाद, सलेम अल हजरी, मुस्तफा तारेक, करिम बौदियाफ, अब्देलाजिज हातिम र स्माइल मोहम्मद हुनुहुन्छ स्ट्राइकरमा नाइफ अल्धरामी, अहमद अलाउल्डिन, हसन अल हेडोस, खालिद मुनिर, अक्रम अफिफ, अल्मोज अली र मोहम्मद मुन्तारी हुनुहुन्छ ।

आयोजक कतार विश्वकपमा समूह ‘ए’ मा छ । यस समूहमा इक्वेडर सेनेगल र नेदरल्यान्ड्स छन् । कतारले उद्घाटन खेल नोभेम्बर २० तारिख इक्वेडरसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

यसैगरी, शुक्रबार रातिनै विश्वकपका लागि स्पेन, नेदरल्यान्ड्स, सर्बिया, मोरक्को र सेनेगलले टोलीको घोषणा गरेका छन् । विश्वकपमा यसअघि पोर्चुगलले प्रभावशाली खेलाडी क्रिष्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ ।

टोली घोषणा गर्ने अन्य देशमा साबिक विजेता फ्रान्स, ब्राजिल, अमेरिका, जर्मनी, इङ्गल्यान्ड, बेल्जियम, पोल्यान्ड, क्यामरुन, उरुग्वे, वेल्स, क्रोएसिया, दक्षिण कोरिया, डेनमार्कलगायत छन् । विश्वकप नोभेम्बर २० तारिखमा सुरु भएर डिसेम्बर १८ तारिखसम्म एक महिना चल्नेछ । 

३२ देशको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । त्यसपछि आठ टोली क्वाटरफाइनल, चार टोली सेमिफाइनल हुँदै डिसेम्बर १८ तारिख फाइनल खेल हुनेछ । सेमिफाइनलमा पराजित टोलीबीच डिसेम्बर १७ तारिख तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । 

विश्वकप फुटबलले २१ औँ संस्करण पार गर्दा हालसम्म आठ देशलेमात्र उपाधि चुमेका छन् । विश्वकपको सर्वाधिक उपाधि चुम्ने देश ब्राजिल हो । ब्राजिलले पाँच पटक उपाधि उचालेको छ । यसैगरी ब्राजिलपछि जर्मनी र इटालीले चार चार पटक, अर्जेन्टिना, उरुग्वे र फ्रान्सले दुई दुई तथा इङ्गल्यान्ड र स्पेनले एक एक पटक उपाधिको स्वाद चाखेका छन् । एजेन्सी