• १३ साउन २०८१, आइतबार

मतदान प्रक्रिया जान्न मतदाता उत्सुक

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, कात्तिक २५ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्ने मतदाताले आफूहरूले सही मतदान प्रक्रियाबारे जानकारी नपाएको बताएका छन् । मतदान गर्ने दिन नजिकिँदै गर्दा हालसम्म कसैले पनि मतपत्रमा छाप कसरी लगाउने र मतदान प्रक्रियाबारे जानकारी नगराएको उनीहरूको गुनासो छ । 

जिल्लाको त्रिवेणी गाउँपालिका–७, मुरुकी बिन्दु ओलीले आफूले पहिलो पटक चुनावी प्रक्रियामा सहभागी हुने मौका पाएको तर सही मतदान प्रक्रियाका बारेमा आफू अन्योल रहेको बताउनुभयो । “मतदान कसरी गर्ने भन्ने कुरा हामीलाई निर्वाचन कार्यालयले सिकाएको छैन, उम्मेदवारले पनि सिकाएका छैनन्,” ओलीले भन्नुभयो, “पहिलो पटक मतदान गर्न उत्सुक छु, तर छाप लगाउने, मतपत्र पट्याउने जस्ता कुरा केही पनि थाहा छैन ।” 

बाँफीकोट गाउँपालिका–९, झुला गाउँकी १८ वर्षीया तुलसा खनालले पनि आफूले सही मतदाता शिक्षा नपाएको बताउनुभयो । पहिलोपल्ट मतदान गर्ने अवसर आए पनि मत बिग्रने हो कि भन्ने डर मनमा रहेको खनालले बताउनुभयो । एक÷दुई पटक मतपत्रमा छाप लगाउने अभ्यास गर्न पाएको भए मत हाल्न सहज हुने उहाँको भनाइ छ । 

रुकुमपश्चिममा यस निर्वाचनका लागि एक हजार २६० जना नयाँ मतदाता रहेका छन् । उनीहरू सबैजना ओली र खनाल जस्तै अन्योलमा छन् । समयमै मतदाता शिक्षा नपाउँदा उनीहरूलाई पहिलो पटकको मतदान प्रक्रिया नै बिग्रने डर लागेको छ । निर्वाचन कार्यालयले मतदाता शिक्षा र सही मतदान प्रक्रियाबारे जिल्लाका सबै स्थानीय तहमा नमुना मतदान कार्य सम्पन्न गरेको जनाएको छ । जिल्ला निर्वाचन अधिकारी रिमा मल्लले मत बदर हुन नदिन र सही मतदान प्रक्रियाबारे जानकारी दिन छवटै स्थानीय तहमा नमुना मतदान गरिएको बताउनुभयो । मल्लले नयाँ मतदातासमेतका लागि स्थानीय तहमार्फत घरघरमा गएर मतदाता शिक्षा दिन महिला स्वयंसेविकालाई खटाइएको जानकारी दिनुभयो । “विगतमा हामीले जिल्लाका विभिन्न विद्यालयमा पनि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेका हौँ,” जिल्ला निर्वाचन अधिकारी मल्लले भन्नुभयो, “चुनावको दिन नजिकिएकाले नमुना मतदान, स्वयंसेविका परिचालन, सञ्चारमाध्यमसमेतबाट मतदान प्रक्रियाबारे जानकारी दिइरहेका छाँै ।” नमुना मतदान कार्यक्रम पालिकाको केन्द्रमा मात्र भएकाले गाउँमा रहेका मतदाताले सहभागी हुन नपाउने गरेको गुनासो भने रहेको छ । 

गत वैशाख ३० स्थानीय तह निर्वाचनमा रुकुमपश्चिममा एक लाख चार हजार ४८० जना मतदाता रहेका थिए भने मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एक लाख चार हजार २८० जना मतदाता रहेका छन् । यस अघि भएको स्थानीय तह निर्वाचनभन्दा आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा २०२ जना मतदाता कम रहेका छन् । पुरानो मतदाता विवरणमा दोहोरो विवरण भएका चार सय जना र मृत्यु भएका ६०५ जना मतदाता हटाउँदा र नयाँ मतदातासहित यस पटकको निर्वाचनमा एक लाख चार हजार २८० मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।