• ८ जेठ २०८१, मङ्गलबार

आचारसंहिता पालना नगर्नेलाई कारबाही हुन्छ : आयुक्त तुलाधर

blog

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

दमौली, कात्तिक २३ गते । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले आचारसंहिताको पालना नगर्ने उम्मेदवारलाई कारबाही गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल कानुन समाज र निर्वाचन आयोग नेपालको आयोजनामा दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

निर्वाचन आयोगले संविधान र कानुनले दिएको अधिकारको पूर्ण उपयोग गर्दै नीति, कार्यविधि र निर्देशिका निर्माण गरी कार्यान्वयनको काममा लागेको उहाँले बताउनुभयो । आचारसंहिता उल्लङ्घनका विषयमा आयोग कडा रुपमा प्रस्तुत हुने उहाँको भनाइ छ । आयुक्त तुलाधारले आचारसंहिता उल्लङ्घन गर्ने ८४ जनासँग स्पष्टीकरण मागिसकेको बताउनुभयो । 

आचारसंहिता उल्लङ्घन गर्ने जोकोही कारबाहीको भागिदार हुने उहाँले प्रष्ट पार्नुभयो । आचारसंहिताको परिधिमा रहेर दलले प्रचारप्रसार गरेमा कसैलाई कारवाही नहुने उहाँले बताउनुभयो । कसैलाई नहोच्याउन, दुष्प्रचार नगर्न आयुक्त तुलाधारले आग्रह गर्नुभयो । स्वअनुशासनमा बसेर आचारसंहितामा नचुक्न आग्रह गर्दै तुलाधारले दायित्व पालना गर्न सम्झाउनुभयो ।

आयुक्त तुलाधारले मितव्ययी हिसाबले निर्वाचन सम्पन्न गराउने तयारी गरिएको बताउँदै निर्वाचन खर्च परिमार्जन गरिएको बताउनुभयो । निर्वाचन खर्चका सन्दर्भमा आयोगले तोकेको मापदण्ड बमोजिम तथ्याङ्क राख्न आग्रह गर्दै तुलाधारले भन्नुभयो, “हामीले सूक्ष्म रुपमा अध्ययन गरिरहेका छौं, संविधानले दिएको चार वटा जिम्मेवारी अन्तर्गत निर्वाचनको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्दै बालिग मताधिकारको प्रयोग गरी लोकतन्त्रको सुदृढीकरण गर्न आयोग कटिबद्ध छ ।” 

आचारसंहिता सबैलाई समान रुपमा लागू हुने उहाँको भनाइ छ । आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचन लोकतन्त्रको आधुनिक जग भएको बताउँदै निर्वाचनको महत्वपूर्ण कडी आचारसंहिता भएको चर्चा गर्नुभयो ।  

नेपाल कानुन समाजका अधिवक्ता मोहन आचार्य, नागरिक संवाद केन्द्र पोखराका प्रमुख जुनाकुमारी गुरुङ, जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल लगायतले स्वच्छ, निष्पक्ष, पारदर्शी, तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आचारसंहिताको पालना गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।