• १४ असार २०८१, शुक्रबार

किसानलाई धानको चटारो

उम्मेदवारलाई भोटको हतारो

blog

जयकृष्ण यादव

इनरुवा, कात्तिक २० गते । किसान खेतमा व्यस्त रहँदा प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवार धान खेतमै भोट माग्न पुग्न थालेका छन्। निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारलाई भोट माग्न हतारो छ भने सुनसरीका कृषकलाई धान थन्क्याउने चटारो परेको छ।

निर्वाचन आउन केवल दुई हप्ता मात्र बाँकी रहँदा यहाँका राजनीतिक दल तथा स्वतन्त्रका उम्मेदवार, नेता र कार्यकर्ता भोट माग्न गाउँघर पसेर घरदैलोमा व्यस्त रहनुभएको छ। किसान धान थन्क्याउन खेतमा व्यस्त रहँदा उम्मेदवारहरू मत माग्न धान खेतमै पुग्न थालेका हुन्। भोट माग्न जाँदा मतदातालाई घरमा नभेटेपछि उम्मेदवारहरू धान खेत र खलियान मै पुग्न थालेका छन्।

यहाँका अधिकांश उम्मेदवारहरू भोट माग्न घरदैलोका क्रममा खेत र खलियान पुग्ने गरेका छन्। गाउँमा मानिस घरमा नभेटिए पछि धान खेत मै भोट माग्न सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा नेपाली कांग्रेसतर्फका उम्मेदवार सीताराम मेहता र प्रदेश नम्बर २ (ख)का उम्मेदवार राजीव कोइराला, सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा नेकपा (एमाले)का उम्मेदवार भगवती चौधरी र प्रदेश नम्बर ३ (ख)का उम्मेदवार रामदेव यादवसहितका पुगेको किसानले बताएका छन्।

जिल्लाको इनरुवा–९ बबियामा देवनारायण शर्माले खेतको धान स्याहार्दै गरेका बेला उम्मेदवारहरू भोट माग्न खेत मै पुगेको बताउनुभयो। धान स्याहार्दै र भैँसीसमेत चराउँदै गरेका बेला भोट माग्न पुगेका दुई नेतालाई शर्माले छोराछोरीलाई रोजगार र समयमा मलखादको व्यवस्था गर्नेलाई आफूले मत दिने बताउनुभयो। त्यसैगरी बर्जु गाउँपालिका–३, अमडुवामा एमालेका प्रदेश सभा क्षेत्र नम्बर ३ (ख)का उम्मेदवार रामदेव यादवले पनि खेतमै गएर भोट माग्नुभयो। खेतमा पुग्नुभएका यादवलाई स्थानीय शर्मिला चौधरीले भन्नुभयो, “नेताहरूलाई पटक–पटक जिताएर पठायौँ तर हाम्रो माग अहिलेसम्म पूरा भएको छैन।” 

उम्मेदवार यादवले किसानको माग जायज भएको र आफू दुई पटक उम्मेदवार भए पनि पराजित भएकाले यस पटक सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले आफ्नो पहल र प्रयासमा यस क्षेत्रमा कृषिका लागि धेरै काम गरेको बताउनुभयो। उहाँले आफूले यस पटक मौका पाए कृषकको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

हरिनगर गाउँपालिका–१, भुटाहाका कृषक युवाक मुखियाले मलखमद र सिँचाइका लागि कसैले चासो नदिएको बताउनुभयो। “गाउँमा भोट माग्ने नेताहरूको लर्को छ तर कृषकको समस्याप्रति उनीहरूलाई कुनै मतलब नै छैन,” मुखियाले भन्नुभयो, “भोट माग्न आउँदा उम्मेदवारहरूलाई मल र सिँचाइ उपलब्ध गराऊ अनि मत दिन्छौँ भन्दा उनीहरूले प्रयास गर्छौँ भन्दै झारा टार्ने गरेका छन्,” उहाँले भन्नुभयो।

सुनसरीमा ५५ हजार हेक्टर खेती योग्य जमिनमध्ये सिँचाइ अभावमा ४५ प्रतिशत खेती आकाशे पानीको भरमा कृषकहरूले गरिरहेका छन्। सिँचाइका लागि ठूला–ठूला आयोजना निर्माण नहुनु र भएका नहर तथा योजनाको नियमित मर्मत सम्भार नहुँदा सिँचाइ यहाँको प्रमुख समस्या बनेको छ। 

उत्पादन बढाउन सिँचाइको ६० प्रतिशत बढी भूमिका हुने कृषि प्राविधिक बताउँछन्। त्यसैगरी मलको अभावमा पनि किसानको उत्पादन घटेकाले यसमा ध्यान दिन पनि उम्मेदवारहरूलाई आग्रह गर्दै पठाएको किसानको भनाइ छ। सुनसरीमा चार प्रतिनिधि सभा सदस्य र आठ प्रदेश सभा सदस्यका लागि जिल्लामा दुई सय पाँच जना चुनावी मैदानमा छन्। जिल्लामा वाम लोकतान्त्रिक गठबन्धन र एमालेबीच नै अधिकांश स्थानमा प्रतिस्पर्धा रहेको मतदाता बताउँछन्। 

जिल्लामा चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सदस्य निर्वाचनमा पाँच लाख ४४ हजार ९४१ मतदाताले मतदान गर्ने भएका छन्। मङ्सिर ४ गते हुने निर्वाचनमा दुई लाख ७४ हजार ७०५ पुरुष र दुई लाख ७० हजार २३४ महिला गरी कुल पाँच लाख ४४ हजार ९४१ मतदाताले मतदान गर्ने भएका हुन्। जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाता सङ्ख्या चार हजार ४७१ ले कम रहेको छ।