• १० मंसिर २०८१, सोमबार

जाल्पादेवीलाई नमस्कार

blog

आफूसँग मिल्दो साथीको ओत लागेर तादी–त्रिशूलीको सङ्गम जाल्पादेवीको दर्शनार्थ सुइँकुच्चा ठोक्न भित्री हृदयले मलाई उक्साइरहेको थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पार्थिव शरीर सेलाइएको जाल्पादेवीघाट दर्शनार्थ पुगिछाड्ने मेरो हठी स्वभावले अड्डी कस्यो । कोरोनाले घाइते मन बिसाउने यात्रा २०७८ साल फागुन १९ गते बिहीबार जु¥यो । वासस्थान भक्तपुरबाट जाल्पादेवी यात्राका लागि हाम्रो मोटर छुट्यो । अनि नागढुङ्गा, नौबिसे हुँदै गल्छी पुगेर दायाँ उत्तर मोडिँदै त्रिशूली–माईखोला सङ्गम स्थानेश्वर मन्दिर किनारमा टक्क रोकियो । 

त्रिशूली नदीले दुवै किनार सिँगारेको चकाचक परिवेश पढ्दै यात्रा अगाडि बढ्छ । यात्रामा दुर्बल, कमजोरलाई एक्ल्याउने, इल्लिबिल्ली पार्ने सहरिया हाम्रो हृदयमा जमेको कलुषित तुष शुद्ध त्रिशूलीले सर्लक्कै बढारिएको आभास भयो । बिटुलो मन, विभेदकारी अगुवाइ र विरोधाभाषपूर्ण सहरिया गलफतबाट विल्कुलै विपरीत नदी किनारको पौराणिक व्यञ्जनबाट टन्न अघाएर मैले सन्तुष्टि पाउँछु । यस सन्तुष्टिमा रमाउँदा त्रिशूलीले आफ्नो शिरतर्फ मलाई हिँडाइरहेको भान हुन्छ । त्यही पौरखी तारतम्यमाथि सुगाका बथान रमाइलो उडान भर्दैछन् । 

जुँगा सुकेका पेटारे मकैबारीसँगै हिउँदे धान रोपाइँको हतारमा डम्म पानी जमेका गराछेउको ब्याडमा प्रकृतिको बयली नृत्य मञ्चनले बुर्कुसिँदो तमासा पस्किँदै छ । त्रिशूली आफ्नै सनातन पहिचानमा एकछत्र बगिरहेको छ । एकाएक हल्का कुहिरोको सिमसिमे पर्दा छिचोल्दै रङ्गीविरङ्गी घामका सुनौलो किरण नदी किनारको सिसौ, बाँस, लहरेपीपल र उत्तीसघारीमा ठोक्किँदा अद्भूत दृश्य एक्कासि जन्मिन्छ । मानौँ– कल्की ओढेका छिर्केमिर्के भाले तित्राका बथान व्याधाको सिकारबाट छलिन सुरक्षित गन्तव्यतर्फ दोडिँदैछन् । 

त्रिशूली पुनः फराकिलो आयतनमा सग्लाउँदै र फिजिँदै केउरेनी र रातामाटेका उर्वर बेँसीहरूको पाउमा दाइमाडो गर्दै कल्कलाउँछ । कल्पनाबाहिरको उब्जनी चमत्कारले कृषि क्रान्तिको अग्रणीस्थान सिद्ध गर्छ । छिरलिने, फिँजिने, डोलिने, छालमाथि छाल खप्टिएर पट्याइँदै, पछारिँदै फिँजको ¥यालमा सुसेलिन्छ त्रिशूली । त्रिशूलीको चञ्चलमय प्रदर्शन हेर्नमै व्यस्त छु म । जीवनरूपी नदीमा म पनि छ दशक लामो यात्रामा यसरी नै बग्दै आज उमेर पाकेको भुक्तभोगी यात्री हुँ । यतिबेला विपरीत धारको त्रिशूली छालसँगै भावनाको संयुक्त डुङ्गामा एकैसाथ बगिरहेको अनुभव भइरहेको छ । कतै पानीका झरनाहरू फुत्तफुत्त हाम फाल्ने, कतै घाम र कुहिरो आपसी लुकामारीमा जिस्किने अनौठो चमत्कार दृश्य नै तत्काल त्रिशूली नदीले मप्रति सुम्पिएको मुहूर्त समयको अविस्मरणीय उपहार कोसेली थियो ।

समय फुत्कियो भने पुनः चाहेजस्तो माहोल आफ्ना लागि नफर्किनेप्रति होसियारी अपनाउँदै बाटो किनारको पृथक्पृथक् स्वरूप पढ्नमै म व्यस्त छु । अन्धवेगमा विपरीत दिशातर्फ कुदिरहेको मोटरसँगै फालहाल्दा बेजोड स्याँठको रुखो हिर्काइले झम्टिएर घरिघरि कानको लोती झन्झनाउँछ । नाकमा पीरो गन्धको असहज महसुस हुन्छ । थकित ओठमा सेतो लेउको कलेटी लेपिन्छ । अनि दुवै आँखाको डिलबाट नुनिला आँसुका ढिक्का खुत्रुक्क ओर्लिने निकास चहार्छन् । म भने नवीन ठाउँको दुर्लभ यात्राको मग्नतामा रमाइरहेको हेक्काप्रति अडिग छु । 

छिरलिने, फिँजिने, डोलिने, छालमाथि छाल खप्टिएर पट्याइँदै, पछारिँदै फिँजको -यालमा सुसेलिन्छ त्रिशूली । त्रिशूलीको चञ्चलमय प्रदर्शन हेर्नमै व्यस्त छु म । जीवनरूपी नदीमा म पनि छ दशक लामो यात्रामा यसरी नै बग्दै आज उमेर पाकेको भुक्तभोगी यात्री हुँ । 

दुर्भाग्यको कुदिन क्षणले जीवनमा जति हाम्रो भाग्य खोसेको छ, शौभाग्यमा त्यति प्राप्त लाभप्रतिको हेक्का कदापि भुल्नु हुँदैन । यस्तै अग्नि परीक्षाको दुर्लभ घडीहरूले बेलाबखत मानिसको सोचलाई तिखार्छन्, जिम्मेवारीप्रति सचेत बनाउँछन् । यही अनुभवमा खारिएको सबल मनस्थिति नै भवितव्यको प्रहार छल्दै सुरक्षित मार्ग पछ्याउने सुगम उपाय हो । आजको यो घुमफिर क्षण मलाई उज्यालोको खोजीतर्फ उन्मुख सोखको जब्बर समय साबित भएको छ । बिजुली बत्तीको चमत्कारयुक्त चम्काइसरह घुमफिर खुराकको सिर्जना जीवनभर मबाट जन्मेन नै तर आजको पाको उमेरमा हल्का लेखकीय चुरिफुरीको लहडमा फुर्किंदै छु ।

जाल्पादेवीको महिमा गाउँदै मृगतृष्णाको अन्धवेगमा हाम्फालेको आजको यात्री म । यो प्रसन्न क्षणमा थकानले लद्दु बनेको शरीरको बैरी विकार मबाट तर्सिएर टाढा भाग्दैछन् । बिन्दुबिन्दुमा गहिरिँदै आइरन धारमा नदी बग्दै छ । हामीलाई तत्काल हिँडाइरहेको कालोपत्रे बाटो पनि सापोनापो बराबर त्यतिमाथि अग्लिएको अनुभव हुन्छ । पुलपुलेसाविहीन यामका अग्रजहरू त्रिशूलीको बाढी, पहिरो, भेल, जँघारको चुनौती झेल्दै कसरी जीवनयापन गरे होलान् भन्दै इतिहासतर्फ हाम्फाल्छु । मात्रै अब छ कि.मि. दूरी रहेको जाल्पादेवी मन्दिर नजिकिँदै गर्दा त्यसको महìव, रहस्य र महिमाको अग्रिम जानकारी खोजीमा केन्द्रित बन्दै जान्छु ।  फुकाफाल बाटोमा हाम्रो मोटरतर्फ पैदल आइरहेका निधारमा त्रिकुट चन्दन लेपित गेरुवस्त्रधारी एक भद्र वृद्धसामु किनारा लागेर रोकिन चालकलाई मैले इशारा गर्छु । हाम्रो जाल्पादेवी मन्दिरको महìवमा केन्द्रित यात्रा भएको खुलासा गर्दै मैले छुटाएको प्रश्नलाई गम्भीरतापूर्वक लिँदै ती भद्र पुरुषले हाम्रो परिचय माग्छन् । राजधानी काठमाडौँको बत्ती आयतनमा आजसम्म छलिएर लुकेको तर अथाह धार्मिक रहस्यको खानी पवित्रस्थल जाल्पादेवी मन्दिरको महìव उजागर गर्ने हाम्रो एक मात्र पवित्र उद्देश्य भएको बेहोरा सुनेर उनले प्रसन्नता जाहेर मात्र गर्दैनन्, आफू यही न्युबोटेमा जन्मेहुर्केको रैथाने आध्यात्मिक व्यक्तित्व ठाकुरप्रसाद लामिछाने भएको र नजिकैको घर देखाउँदै आधा घण्टापछि आफ्नो घरमा खाना खाने गरी आउन निमन्त्रणा थमाउँछन् । हाम्रो मन्दिरप्रतिको उत्सुकतासमेत मेटाइदिने आश्वासन दिन्छन् । 

साइतकै फल, आकस्मिक रूपमा प्राप्त सद्भाव संयोगलाई नाइँनास्ती नगरी स्वीकार्छौं । केहीबेरका लागि मोटोर रोकेर त्रिशूली नदीको सङ्लो धारले सूर्यलाई जलअर्घ चढाउन नजिकैको बुसिङघाटतर्फ बिस्तारै ओर्लिन्छौँ । बुर्बुरे ओरालोको लोहोरे पत्थरमा चिप्लिएर गुडुल्किँदै, थेचारिँदै बजारिँदा एकाएक म अर्धघायल बन्न पुग्छु । नसा–बाथ रोगको सिकायतले ग्रस्त मधौरो शरीर चार हातखुट्टाले टेक्दै, घिसार्दै मुस्किलले नदी किनारको बगरमा ओर्लिन्छु म । अनि छल्किँदो धारमा गुञ्जायमान वेगको त्रिशूलीको जलस्पर्शतर्फ फालहाल्छु । नदीको जल दुवै हातको अञ्जुलीमा उभाएर सूर्यनारायणलाई मेरा सोह्र पुस्ताका अग्रज सम्झिँदै सङ्कल्प गर्छु । त्यो दुर्लभ ठाउँको यो ऐश्वर्य संयोगप्रति भगवान् भरोसा पुकार्दै असीमित आनन्द ऐश्वर्यमा फुर्मान बन्छु । 

हाम्रो सुकिलो वेशभूषा, विनयशील विनम्रता र हल्ला नगर्ने गम्भीर प्रकृतिको उत्सुक तलासी लिन नजिकैका गाउँबस्तीबाट दर्जनौँ स्थानीय सरोकारवाला फालहाल्दै बुसिङघाटमा ओर्लिएर हाम्रो आगमन उद्देश्यमाथि केन्द्रित भई बाह्रथरी प्रश्न तेस्र्याउँछन् । सरकारी बजेटको दुरुपयोगस्वरूप कनिका चारो छरेर सस्तो राजनीतिक विचार लाद्ने विकासे योजनाका राजनीतिक मतियार पण्डा आफूहरू बिल्कुलै नभएको स्पष्टीकरण सुम्पिन्छाँै । जाल्पादेवीको दर्शनार्थ निस्केका धार्मिक तीर्थयात्रु मात्र भएको स्पष्टीकरणसहित अनावश्यक लाञ्छनाबाट पञ्छिने उपाय अपनाउँछौँ । अब भने बारसत्ताइस प्रश्न तेस्र्याउने हिम्मतबाट हच्किँदै, हाम्रो घेराबन्दीबाट छलिँदै अनावश्यक प्रश्न तेस्र्याउने हिम्मतबाट उनीहरू पछि हट्छन् । हाम्रो अभियानमा सघाउने प्रतिबद्धतासमेत जाहेर गर्छन् । स्थानीय लुमडीप्रसाद रिमालको सौजन्यमा एक काइँयो काँचो केराको उपहार नै त्यसको उदाहरण हो । 

समयको महìवअनुसार पूर्वअग्रिम निमन्त्रणा थमाउन न्युबोटेस्थित बाटो किनारको ठाकुरप्रसाद लामिछाने गृहतर्फ सोझिन्छौँ । पक्कीघरको बरण्डामा उक्लिन पाएको आदेश पालना गर्दै परिवार सदस्यमाझ परिचयको जस्केलो खोलिन्छ । अनि नाङ्गा आँखाले नदीपारिको मैरेटार, छत्रेको चिल्लो सालघारीसँगै कालीमाटीको पुछार त्रिशूलीमा विलय हुने छत्रेखोलाको फेहरिस्त उत्तरी भूबनोट मैले निर्धक्कतापूर्वक पढ्छु । अझ माथि बुद्धजोगी डाँडोको शिर हुँदै भुमराको चुचुरोदेखि झ्याउरे मजुवाको शिरसम्मका नागबेली पर्वत शृङ्खलाहरू साक्खै बनेर मसँग नजिकिन्छन् । अनगन्ती टुटिल्के, च्याण्टे, घैँटे, चाँदे, खप्परे, कोप्चे, दारे अग्ला पहाडी शिखरहरू मर्यादापूर्वक आआफ्नो पहिचानमा झुल्किन्छन् । अन्त्यमा जाल्पादेवीको विषयमा त्यस गृहका अतिथि वृद्ध गुरु थानानाथ न्यौपानेको ‘बूढो म¥यो, कुरो स¥यो’ ठट्यौली उखान टुक्काबाट रहस्य, महìव सर्सर्ती खुल्न थाल्छ । 

सत्ययुगमा सतीदेवीको तल्लो ओठ पतन भएको तादी त्रिशूली सङ्गम जाल्पादेवीघाट यसै पनि महिमास्थल मानिन्छ । त्यही जाल्पादेवीस्थलमा भैरवेश्वर महादेव किराँतेश्वरसमेत उत्पन्न भएको पूरक प्रमाण खुल्छ । दुवै नदी सङ्गममा जलहाँस बथान पौडिरहेको अवस्थामा घुँडासम्मको पानी ओढेर नदीमा जालहान्ने जलेरी अथवा माझीको पासो जालमा जब एउटा पोथी हाँस पर्छ, त्यही पोथी हाँससँगै आफू देवी अवतार भएको रहस्यसहित साक्षात्कार देवी भगवती अवतार बनेर एकाएक झुल्किँदा झस्किएका माझीहरू उनको शरण पर्छन् । देवीको तथास्तु आशीर्वादपछि माझीले पापबाट मुक्ति पाएको धार्मिक किंवदन्ती सुनेर जाल्पादेवी सक्कली देवी अवतार भएको विश्वास हाम्रो हृदयमा अङ्कुराउँछ । 

जीवनमा एकवार जाल्पादेवी मन्दिर दर्शन गर्ने मनुष्यको पुनर्जीवन पनि ऐश्वर्यमय बन्ने पूरक प्रमाण सुनेर जाल्पादेवीको समग्रताबाट लाभ लिन्छौँ । अनि प्रभाती खानाका लागि आदेशअनुसार सोझिन्छौँ । ठाकुरप्रसादकी धर्मपत्नी गीता लामिछाने, छोरा, बुहारी, नाति–नातिनीको हार्दिकताबाट हाम्रो सम्मान अझै उर्लिन्छ । मीठो स्वादिष्ट घरमै उब्जेको चौरासी व्यञ्जन डकार्छौं । अनि परिवारजनको उत्सुकतालाई सम्बोधन गर्दै ‘साइत जुरेको डाँफे’ आफ्नै मौलिक नियात्रा कृति एकप्रति सुम्पिएर बिदाबारी हुन्छौँ । पुनः बेलकोट नगरपालिकाको नापनक्सा पछ्याउँदै अगाडि बढ्दा जाल्पादेवी दर्शनको मुहूर्त क्षण ढिप्किँदै जान्छ । सिर्खाली पुल क्षेत्रको चैते बीउ ब्याडलगायत तोरीबारीले हाम्रो स्वागत गर्छ । जिलिङखोला र सिर्खाली दोभानबीच बाटो किनारको घरआँगनको झाप्रिलो तोरी, सस्र्यू, खराइनजिक मोटर रोकेर हेरी छाड्ने लहडको भूत हामीमा जाग्छ । त्यस घरकी गृहिणी देवकी घिमिरे र उनकी स्कुले कन्याको पौरखले उब्जाएको तोरीलाई सहयात्री दाजुहरूले मोबाइलमा कैद गर्नुहुन्छ । मौलिक पहिरनकी विनयशील देवकी घिमिरेको काँचो मेवा सद्भाव उपहार ग्रहण गरी हामी अगाडि बढ्छौँ । बेल्कोटको विसर्जन एवं विदुर नगरपालिका प्रवेशको सङ्केत तादी (सूर्यमती) पुलमा ओर्लिंदा त्यही फेरोमा आरोग्यवहार हम्किरहेको सालघारी जङ्गलबाट अधिक लाभ लिन्छौँ । गल्छीदेखि तादी त्रिशूली सङ्गम जाल्पादेवी दोभानसम्मको त्रिशूली नदीले सिँगारेको सुन्दर प्राकृतिक रमणीयताले हाम्रो साबिक अनुमानलाई सहजै उछिन्छ । 

विदुर नगरपालिका प्रवेशसँगै सुरु गल्ली किनारमा मोटर रोकेर पैदल यात्रामा जाल्पादेवी मन्दिर दर्शनार्थ सोझिन्छौँ । मन्दिर नजिकिँदै जाँदा जाल्पादेवीलाई स्वीकार्य हुने फूलप्रसाद एवं अगरबत्तीको सुगन्ध हर्हराउँदै जान्छ । २०६६ साल वैशाख १ गते झन्डै चार रोपनी क्षेत्रफल परिसरमा निर्मित आधुनिक किलाकाँटाको जाल्पादेवी मन्दिरलाई चारैतर्फ कमान्ड तटबन्धको व्यवस्था छ । दायाँ पारेर पूर्व दक्षिण, पश्चिम हुँदै फन्को मारेपछि उत्तर–पूर्वी मूल ढोकाबाट प्रवेश गरी जाल्पादेवीलाई नमस्कार अर्पण गर्दछु । लामो समयदेखि जाल्पादेवीको नाममा हृदयभित्र सङ्लिएको फूलप्रसाद, दक्षिणा चढाउँदै शिर निहुराएर पुनः साष्टाङ्ग दण्डवत गर्दछु । बिहान ११.४९ बजेको शुभ मुहूर्तमा जाल्पादेवीसँग साक्षात्कार हुन पाएकोमा प्रसन्न बन्दै अन्य आगन्तुक यात्रुलाई दर्शनको निकास सुम्पिँदै बाहिरी वातावरण पढ्न सोझिन्छु । 

दुवै नदीको धुन लहरी सुसावट स्पर्शले पश्चिमी सिरसिरे बहारसँगै परिवेशलाई सुम्सुम्याइरहेको छ । भजनकीर्तन गृह, धर्मशाला, गणेश मन्दिर, ज्येष्ठ नागरिक विश्रामस्थल, किरियापुत्री घर, वेद अध्ययन, विश्राम कुञ्जलगायत भगिनी शृङ्गारद्वारा जाल्पादेवी मन्दिरले पूर्णता पाएको छ । अक्सर बाह्रैमास दर्शनार्थ खुला रहने जाल्पादेवी मन्दिर परिसरमा सोह्र श्र्राद्धभर पितृ तर्पण कर्म खुला हँुदो रहेछ । कार्तिक हरिबोधनी एकादशीअघिको दशमीको रातमा यहाँ धार्मिक मेला लाग्ने परम्परा रहेछ । माघेसङ्क्रान्तिमा दर्शन मेला लाग्ने जाल्पादेवी मन्दिरमा वैशाख बुद्धपूर्णिमामा हरेक वर्ष तीन रात तीन दिन नुवाकोट साततले दरबारका धामी भैरवी रथ लिएर आउने परम्परा रहेछ । वर, पीपलको सामूहिक विश्राम चौतारो, अशोक, करवीर, तुवा (सेतो फूल फूल्ने), पारिजात, भुइँचम्पालगायत दर्जनौँ प्रजातिका फूलले शोभायमान मन्दिर परिसर यात्रुको धार्मिक अभीष्ट सिद्धिको पवित्रधाम स्वीकारिएको रहेछ । 

तादी–त्रिशूली सङ्गममा ओर्लिएर दुवै नदी दिदीबहिनीबीचको घघडान प्रतिस्पर्धा तमासाको घचेटाघचेटपछि छाल लहर संयुक्त रूपमा सङ्लो धारमा डोलिँदै पश्चिमी निकास लिएको रहेछ । देवीघाटले परिचित यस दोभानमा दुवै नदी भेल बाढीसँगै एकैसाथ उर्लिंदा नदीको आयतन चुलिएर छचल्किने जलले बर्सेनि जाल्पादेवीकोे अस्तित्वलाई चुनौती दिएका घटनाले झसङ्ग पार्छ । मन्दिर परिसरको पक्की पर्खाललाई थप उचाइमा पूर्णता दिनु बाढी चुनौतीबाट छलिने अग्रिम बुद्धिमानी सावधानी हुनेछ । अनादिकालदेखि बगिरहेकी त्रिशूलीको जलऐना दोभानमा केहीबेर हराउँदै सुस्ताउँदा आजको आफ्नो जीवन तत्काल मलाई अर्थहीनजस्तो लाग्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको समाधिस्थ गरिएको चिता चट्टान दर्शनार्थ सोझिन्छु । पृथ्वीनारायण शाहको पार्थिव शरीर विश्रामस्थलमा पुगेर उनलाई सम्झिँदा मनमा उब्जने भ्रान्तिले म झस्किन्छु । टुक्रिएको बाइसे चौबीसे राज्यलाई सबल सिङ्गो नेपाल एकीकरणको महान् अभियानमा जीवनको ३३ वर्ष अथक रूपमा सुम्पिँदै कठोर तपस्याद्वारा आर्जित नेपाल र नेपालीको गौरवपूर्ण नागरिकको नाताले तिनै राष्ट्रिय विभूतिलाई तत्काल सम्झिएर भावुक बन्छु । 

यसरी राष्ट्रनिर्माताको समाधिस्थल, दुवै नदीको सङ्गमस्थल, देवीघाट जलविद्युत् उत्पादनको पावरहाउस स्थलसँगै एकैसाथ जाल्पादेवी मन्दिरको दर्शन दुर्लभ साइत संयोग मिलेको पवित्र भाव शरीरमा हर्हराएको महसुस हुन्छ । जीवनकै दुर्लभ तर अति महìवपूर्ण यस रोमाञ्च क्षणमा जाल्पादेवीलाई नमस्कार र पृथ्वीनारायण शाहको समाधिस्थलमा दुई थुँगा फूलले एकैसाथ श्रद्धाञ्जलि चढाउँदै आफ्नो तीर्थयात्रालाई पूर्णता दिन्छु । दुवै नदीको संयुक्त बहावबाट पृथ्वीनारायण शाहको समाधिस्थलमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दै जाल्पादेवी मन्दिर प्राङ्गणमा उक्लिएर बिदाइ नमस्कार अर्पण गर्दछु ।  अन्त्यमा जाल्पादेवी मन्दिरबाट १२ किलोमिटरमाथिको उत्तरी सामरिक किल्लामा उनै राष्ट्रनिर्माताद्वारा वि.सं. १८२५ मा निर्मित साततले नुवाकोट दरवार र भैरव मन्दिर दर्शनार्थ सोझिन्छु । सबै तारतम्यको आकर्षक धार्मिक केन्द्र जाल्पादेवी मन्दिरलाई पुनः अन्तिम नमस्कार अर्पण गर्दै आजको यात्राको पूर्णताप्रति भने सन्तुष्टि जनाउँछु ।