• १२ असोज २०८१, शनिबार

जाडोमा छालाको स्याहार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १९ गते । जाडोयामले छोएसँगै छालाको सौन्दर्य कायम राख्न चुनौतीपूर्ण बन्ने गर्छ। यो मौसममा छालाहरू रुखो र खस्रो हुने गर्छ भने जाडोयाममा खुट्टा फुट्ने, सुन्निनेजस्ता विभिन्न समस्या देखा पर्छन्। चिसोका कारण खुट्टाको छाला पाप्रा बनेर निस्कनेजस्ता समस्या पनि आउँछन्। त्यसैले जाडोयाममा खुट्टाको स्याहारमा विशेष ध्यान पु-याउनुपर्छ। मुख्यतयाः महिलाहरू घरायसी तथा बाहिरी कार्य व्यस्तताले जाडोयाममा खुट्टाको स्याहारमा ध्यान पु-याउन सकिरहेका हुँदैनन्। महिलाजस्तै पुरुष पनि दिनभर कार्यालय तथा अन्य कार्यको व्यस्तताले गर्दा खुट्टाको सरसफाइमा ध्यान पु-याउन सकिरहेका हुँदैनन्। जाडो मौसममा चिसोका कारण नियमित खुट्टा धुन मन नलाग्ने तथा धुन नभ्याउने, नियमित जुत्ता तथा मोजा लगाउनेजस्ता कारणले गर्दा खुट्टाको छालामा विभिन्न प्रकारका समस्या देखा पर्छन्। 

चिसोले गर्दा कुर्कुच्चा फुट्ने, नियमित मोजा तथा जुत्ता लगाइने हुँदा खुट्टाको नङ फोहोर हुने तथा सुन्निएर पाक्ने समस्या सामान्य रूपमा देखिन्छन्। त्यसैगरी खुट्टामा फोहोर जमेर छाला फुट्ने, खुट्टाको छाला फुस्रो हुने, चायाँजस्तो बनेर उप्कने, खुट्टा सुन्निने र दुख्ने जस्ता समास्या प्रायः देखिने गर्छ। 

खुट्टाको सरसफाइ र छालाको हेरचाहका लागि खुट्टा सफा राख्न ब्युटी पार्लर गएर पेडिकेयर पनि गर्न सकिन्छ। ब्युटी पार्लर विशेषज्ञका अनुसार घरमै पनि खुट्टाको सरसफाइ गरेर आफ्नो खुट्टालाई सुन्दर बनाउन सकिन्छ, जसका लागि  खुट्टा डुबाउन मिल्ने बाटामा मनतातो पानीलाई राख्ने र त्यसमा गुलाबजल, कागतीको रस, केही मात्रामा नुन, डिटोलको केही थोपा र सेम्पु हालेर करिब १५ मिनटसम्म खुट्टा डुबाएर राख्ने गरेमा राहत हुने गर्छ। यसरी मनतातो पानीमा खुट्टा डुबाएर राख्दा खुट्टा नरम हुन्छ, खुट्टालाई फोहोर सफा गर्ने खस्रो काठ वा खस्रो ढुङ्गाद्वारा कुर्कुच्चामा भएको मरेको छालालाई घोटेर सफा गर्नुपर्छ। नरम ब्रसद्वारा नङ र कुर्चुच्चामा हलुकासँग ब्रस गर्ने यो प्रक्रिया सकिएपछि कुर्कुच्चालाई हातले हलुकासँग मालिस गर्ने यसपछि खुट्टालाई राम्रोसँग मनतातो पानीले पखालेर पुछ्ने। 

मसाज क्रिमद्वारा खुट्टालाई मालिस गर्ने यसरी खुट्टालाई मसाज क्रिमद्वारा मालिस गर्दा खुट्टा नरम हुनुका साथै शरीर एवं टाउकासम्म रक्त सञ्चारलाई फाइदा पु¥याउँदै शरीर दुखाइलाई पनि कम गर्छ।