डडेल्धुरा, कात्तिक १९ गते । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा चुनावी सरगर्मी छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला भएकै कारण राष्ट्रिय राजनीतिमा डडेल्धुराको विशेष चासो छ ।
प्रधानमन्त्री देउवा बिहीबार गृह जिल्ला आउनुभएको छ । उहाँले शुक्रबार साँझसम्ममा तीनवटा चुनावी सभालाई सम्बोधन गर्नुभयो । साथै जिल्लावासीस्थित राजनीतिक दलका नेता–कार्यकर्तासँग भेट गरी विकास निर्माण, जिल्लाका समस्या र अबको कार्यभारका सन्दर्भमा पनि छलफल गर्नुभयो ।
वैशाख २७ गतेपछि पहिलो पटक डडेल्धुरा आउनुभएका प्रधानमन्त्री देउवाले जिल्लावासीका समस्यामा विशेष चासो राख्दै ढिलासुस्ती नगर्न सरोकारवालाहरूलाई निर्देशन दिनुभयो । उहाँको मुख्य चासो जनसरोकारका विषयमा केन्द्रित देखिन्छ । डडेल्धुरा प्रदेश सभा (क) का उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य खगराज भट्टले प्रधानमन्त्री देउवाको जिल्ला आगमनले राजनीतिकसँगै आर्थिक र विकासका सवालमा उत्साह पैदा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशकै प्रधानमन्त्री भएका कारण सधैँ आइरहन पाउनुहुन्न, निर्वाचन कार्यक्रमका लागि आउनुभएको हो, प्रधानमन्त्रीलाई हामीले यहाँको विकास कामबारे जानकारी गराएका छौँ, जनताका आवश्यकतालाई पूरा गर्न आफ्नो सहयोग हुने र काम तीव्र रूपमा अघि बढाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।”
‘ऐतिहासिक मतान्तरको जित’
स्थानीय तह निर्वाचनमा कांग्रेसले अमरगढी नगरपालिका र पर्शुराम नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका जितेको छ । गठबन्धनकै माओवादी केन्द्रले अजयमेरू र आलीताल गाउँपालिका जितेको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार देउवालाई नेकपा (एमाले)ले पनि अघोषित रूपमा समर्थन गरेको नेता भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “डडेल्धुरामा प्रतिनिधि सभातर्फ एमालेले उम्मेदवारी दिएको छैन, यो प्रधानमन्त्री देउवालाई समर्थन गरेको बुझ्दा हुन्छ ।”
प्रतिनिधि सभा सदस्य पदमा एमालेबाट विद्रोह गरी विक्रम शाही, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, बीपी कांग्रेसबाट कर्णबहादुर मल्ल, राप्रपाबाट गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार कर्णसिंह रावल, सागर ढकाल र लालबहादुर कठायतले उम्मेदवारी दिनुभएको छ ।
बीपी कांग्रेसका मल्लले प्रधानमन्त्री देउवाका सहयोगी भएर लामो समय काम गर्नुभएको थियो । एमालेको सूर्य चिह्नमा मतदान गर्न नमिले पनि बिहीबार एमाले जिल्ला कमिटीले बागी उम्मेदवार शाहीलाई समर्थन गरेको छ । सामाजिक सञ्जालमा चर्चामा रहेका ढकालले युवाको अभिमत तान्ने प्रयास गरिरहनुभएको छ ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले यस पटक प्रधानमन्त्री देउवासँग प्रतिस्पर्धामा कोही नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धनको साथ छ, अघिल्ला निर्वाचनका प्रतिस्पर्धी खगराज भट्ट गठबन्धनकै उम्मेदवार हुनुहुन्छ । यस पटक प्रधानमन्त्री देउवाले ऐतिहासिक मतान्तरसहित जित्नुहुन्छ ।”
डडेल्धुरा प्रदेश (ख)मा कांग्रेसका गोविन्दराज बोहरा उम्मेदवार हुनुहुन्छ । प्रदेश (क)मा राप्रपाबाट पदमराज जोशी र स्वतन्त्र उम्मेदवार महेश धामी र धनबहादुर बोहराले उम्मेदवारी दिनुभएको छ ।
प्रदेश क्षेत्र (ख)मा टिकट नपाएपछि एकीकृत समाजवादीका नेता डा. तारा जोशीले बागी उम्मेदवारी दिनुभएको छ । त्यस्तै प्रदेश क्षेत्र (ख)मै राप्रपाबाट खेमराज पनेरू, राप्रपा नेपालबाट जयराज अवस्थी, जसपाबाट नरभान पार्की र स्वतन्त्रबाट तेजबहादुर कठायत र नवराज धिक्तले उम्मेदवारी दिनुभएको छ ।