• ११ मंसिर २०८१, मङ्गलबार

चुनावी मुद्दामै सीमित हर्दौना पुल

blog

नारद कोहार

तौलिहवा, कात्तिक १९ गते ।  कपिलवस्तुको बाणगङ्गा नदीअन्तर्गत महाराजगञ्ज नगरपालिका–१० को हर्दौनामा पुल बनाउने विषय वर्षौंदेखि चुनावी एजेन्डामै सीमित हुँदैआएको छ । हरेक पटक चुनावमा उम्मेदवारहरूले हर्दाैना र यशोधरा गाउँपालिका–८ स्थित इटवा सुल्तनवापुर जोड्ने पुल बनाउने अश्वासन दिँदै आएका छन् तर अहिलेसम्म त्यहाँ पुल बन्न सकेको छैन । 

नदीमा पुल नहुँदा स्थानीय बासिन्दा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । अब बन्छ मलाई जिताउनु भन्दै मत माग्न उम्मेदवारहरू हरेक पटक आउँछन् तर जितेपछि बिर्सिन्छन् । अहिले हर्दौनावासी यसरी नै दुखेसो पोख्ने गरेका छन् । ‘‘हर्दौनामा पुल बने यस क्षेत्रको कायापलट नै हुन्छ,’’ ६५ वर्षीय स्थानीय बासिन्दा रामटहल लोनिया भन्नुहुन्छ, ‘‘तर नेताहरूले पुलकै बहानामा कयौँ पटक मत लिएर प्रतिबद्धता बिर्सिएका छन् ।’’ आफू सानो छँदै यहाँ पुल बन्ने कुरा बारम्बार उठ्दै आए पनि अहिलेसम्म बन्न नसकेको उहाँले दुखेसो पोख्नुभयो ।

तत्कालीन हर्दौना गाविस र अहिले महाराजगञ्ज नगरपालिका–१० मा पाँचगाउँ पर्छ । यो भारतसँग सीमा जोडिएको क्षेत्र पनि हो । हर्दौनादेखि उत्तरमा कजारहवा हुँदै गैडहवासम्म पक्की बाटो छ । हर्दाैनामा पुल बने सदरमुकाम तौलिहवा जान निकै छोटो बाटो हुन्छ । हर्दौनामा पुल बने हर्दौना मात्र होइन जिल्लाकै विकासले फड्को मार्ने स्थानीय बासिन्दा नन्दलाल चौहान बताउनुहुन्छ ।

हरेक पटक चुनावमा उम्मेदवारहरूले हर्दाैना र यशोधरा गाउँपालिका–८ स्थित इटवा सुल्तनवापुर जोड्ने पुल बनाउने अश्वासन दिँदै आएका छन् तर अहिलेसम्म त्यहाँ पुल बन्न सकेको छैन ।  

बाणगङ्गा नदीको लक्ष्मणघाट, रामघाट बिजगौरी र बर्गदीघाट पुल बनेर सञ्चालनमा आइसकेको छ । तर हर्दौनामा भने अहिलेसम्म आश्वासनबाहेक केही नपाएको चौहानले बताउनुभयो ।

लगातार चार पटक सांसद जितेका बृजेशकुमार गुप्ता, नेता सुरेन्द्रराज आचार्य अहिले सो क्षेत्रमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । दुवै नेताले यसअघि २०७४ सालको निर्वाचनमा हर्दौनामा पुल बनाउने भन्दै मत माग्नुभएको थियो । गुप्ताले चौथो पटक सांसदमा जित्नुभयो तर अझै पुल बन्न नसकेको चौहानले बताउनुभयो । अहिले पुनः दुवै उम्मेदवारले हर्दौनामा पुल बनाउने कुरा उठाउनुभएको छ तर हर्दौनावासी भने यहाँ पुल बन्छ भन्ने कुराप्रति विश्वस्त हुन सकेका छैनन् । 

हर्दौनाका अर्का स्थानीय बासिन्दा ६५ वर्षीय लालता यादवले नेताहरू गाउँमा पुल बनाउने र नदीको बहाव मोड्ने भन्दै पटक पटक मत माग्न आए पनि निर्वाचनपछि सबैले बिर्सिने गरेको बताउनुभयो । पुल नहुँदा जोखिमपूर्ण यात्रा मात्र होइन बाढीको अति जोखिममा परेको उहाँले बताउनुभयो । गाउँमा बाढी पसेर लाखौँको जनधनको क्षति भएको र आफूलाई जानकारी भएसम्म सात जनाले ज्यानसमेत गुमाउनुपरेको उहाँले उल्लेख गर्नुभयो । 

नदीले बहाव परिवर्तन गर्दा गाउँको दुई सय बिघाभन्दा बढी जग्गा बगरमा परिणत भएको यादवले बताउनुभयो । नदीको पश्चिमतर्फको आफ्नो ४२ बिघा जग्गा बगरमा परिणत भएकाले अहिले परिवार पाल्न नै धौधौ भएको उहाँको भनाइ छ । 

केही महिनाअघि आएको बाढीले पश्चिमतर्फ २५ मिटरभन्दा बढी जग्गा कटान गरेको थियो । पुल नबन्दा र गाउँतर्फ रहेको नदीको बहाव परिवर्तन नगर्दा हर्दौनावासी आक्रोशित छन् ।  यस क्षेत्र नम्बर २ मा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले आफ्नो पहलमा बाणगङ्गा नदीको सिँचाइ तटबन्धलगायतका कामका लागि बजेट स्वीकृत भएको दाबी गर्नुभयो । यस पटक आफू निर्वाचित भए हर्दौनावासीको चाहना र सपना पूरा गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । 

पाँचौँ पटक जितका लागि नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएका बृजेशकुमार गुप्ताले पुल निर्माणका लागि आफूले सक्दो पहल गरेको र स्वायल टेस्टको काम पनि भएको दाबी गर्नुभयो । केही प्राविधिक कारणले हर्दौनामा पुल बन्न नसकेको र चाँडै नै ठोस पहल गर्ने उहाँले बताउनुभयो ।