• ११ असोज २०८१, शुक्रबार

उपराष्ट्रपतिलाई निर्वाचन तयारीबारे आयोगको जानकारी

निर्वाचन स्वतन्त्र रुपमा सम्पन्न हुने उपराष्ट्रपति पुनको विश्वास

blog

उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटमा सहभागी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत । तस्बिर : उपराष्ट्रपति कार्यालय

काठमाडौं, कात्तिक १८ गते। उपराष्ट्रपति नन्दबहादुर पुनलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ। 

उहाँले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र भएको स्थापित गर्ने चुनौती आयोगसँग भएकोसमेत बताउनुभएको छ। 

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तयारी बारे जानकारी गराउन शुक्रबार उपराष्ट्रपति भवन, हरितगृह पुग्नुभएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयोगका अन्य पदाधिकारीसँग कुरा गर्नुहुँदै उपराष्ट्रपति पुनले यस्तो बताउनुभएको हो। 

उपराष्ट्रपति पुनले निर्वाचनमा अधिकतम मतदाता सहभागी हुनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले आयोगले गरिरहेको निर्वाचनको तयारी बारेमा खुसी व्यक्त गर्नुभयो।

‘‘स्थानीय तहको निर्वाचन सम्पन्न गरेकोमा म निर्वाचन आयोगलाई बधाई तथा धन्यवाद दिन चाहन्छु’’, उहाँले भन्नुभयो, ‘‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आयोगले जुन तयारी गरिरहेको छ, यसमा मलाई निकै खुसी लागेको छ। निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न हुनेमा म विश्वस्त छु।’’

उपराष्ट्रपति पुनसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धतासहित आयोगले कामलाई तीव्र बनाएको बताउनुभयो। उहाँले मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी गराउनुहुँदै उपत्यका बाहिरका जिल्लामा ढुवानीसमेत भइसकेको जानकारी गराउनुभएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान सम्पन्न भएपछि आयोगले छिटो भन्दा छिटो मतगणना गरेर परिणाम घोषणा गर्ने बताउनुभएको छ।