• १६ चैत २०८०, शुक्रबार

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ २० गते सन्दीप लामिछानेलाई नियन्त्रणमा लिँदै प्रहरी । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएपछि उनी नेपाल फर्किएका थिए । फाइल तस्बिर

काठमाडौं, कात्तिक १८ गते । काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालका अनुसार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

शुक्रबार सन्दीपको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश घिमिरेको इजलासले सन्दीपलाई केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको जानकारी प्रवक्ता दाहालले दिनुभयो । 

सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ । पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी  भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते सोमबार काठमाडौं अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो । 

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । 

संहिताको दफा २१९ को उपदफा (३) देहाय (घ)मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।