काठमाडौँ, कात्तिक १६ गते । निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई दुई सयवटा सवारीसाधन प्रदान गरेको छ। मङ्गलबार राजधानीमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई उक्त सवारीसाधन प्रदान गर्नुभएको हो।
यी सवारीसाधन निर्वाचनको समयमा प्रयोग गरिनेछ। जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ। समारोहमा अर्थमन्त्री शर्माले नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिनुभयो।
भारतले विगतमा पनि नेपाललाई सवारीसाधन उपलब्ध गराउँदै आएको छ। हालसम्म भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई दुई हजारवटा र नेपाली सेना र निर्वाचन आयोगलाई चार सयवटा सवारीसाधन उपहारस्वरूप प्रदान गरिसकेको छ।