• ११ मंसिर २०८१, मङ्गलबार

रुपन्देही १ मा विश्वकर्मा र भुषालबीच प्रतिस्पर्धा

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक १५ गते । रुपन्देहीको निर्वाचन क्षेत्र १ यतिबेला सबैको चासोको केन्द्र बनेको छ । भर्खरै मात्र एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल र एमाले सचिव छविलाल विश्वकर्मा यतिबेला एकअर्काका प्रतिस्पर्धी बनेर मैदानमा हुनुहुन्छ ।

केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका विश्वकर्मा र भुसाल अहिले एकअर्काका सामान्य प्रतिस्पर्धी मात्रै नभएर आलोचक बनेर मत मागिरहनुभएको छ । दुवैले एक अर्कालाई तीखो टिप्पणी गर्दै चुनाव प्रचार गरिरहनुभएको छ । 

एमालेका विश्वकर्मालाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन छ । एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका छन् ।

विश्वकर्मा र भुसालको रोचक प्रतिस्पर्धा सत्ता गठबन्धन र विपक्षी गठबन्धनका कारण थप रोचक र सबैको चासोको केन्द्र बनेको छ । एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका देवदह निवासी टीकाराम चापागाईँ पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

रुपन्देही क्षेत्र १ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका वडा ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ ओमसोतिया गाउँपालिका  र रोहिणी गाउँपालिका पर्छ । केही दिनअघि एउटै पार्टीका नेता यतिबेला फरक फरक दलबाट उम्मेदवार बनेर घरदैलोमा पुग्दा मतदाता अलमलमा परेका छन् ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार भुसालको गठबन्धनभन्दा एमाले, जसपा र राप्रपाको गठबन्धन करिब १० हजार मतको हाराहारीमा अगाडि देखिन्छ । पार्टीको सङ्गठन र विगतको मत हेरेर नै जित्ने आधार भएको एमाले उम्मेदवार छविलाल विश्वकर्माको भनाइ छ ।

यता घनश्याम भुसालले एमालेको भोट काट्ने अनुमान गरिएको छ । प्रतिनिधिसभामा कांग्रेसको उम्मेदवार नभएकाले कांग्रेसको सबै भोटसहित गठबन्धनको भोट आफूले पाउने भुसालको दाबी छ  ।

नेता भुसाल २०७४ मा गृहनगर रहेको रुपन्देही क्षेत्र ३ मा एमालेबाट चुनाव लडेर जित्नुभएको थियो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही –१ बाट माओवादी केन्द्रका घनश्याम यादव निर्वाचित हुनुभयो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अब्दुल रज्जाक विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी विश्वकर्मा नै हुनुहुन्थ्यो ।

यो क्षेत्रमा एमालेबाट प्रतिनिधिसभामा छविलाल विश्वकर्मा, प्रदेशसभातर्फ राप्रपाका आशिष कुमार चौधरी रुपन्देही क्षेत्र न १ (१), एमालेका दधिराम न्यौपाने रुपन्देही क्षेत्र न १ (२) तथा सत्ता गठबन्धनको समर्थनमा प्रतिनिधिसभामा घनश्याम भुसाल, प्रदेशसभातर्फ कांग्रेसका विश्वनाथ यादव रुपन्देही क्षेत्र न १ (१) र अब्दुल रज्जाक क्षेत्र न १ (२) मा चुनावी मैदानमा हुनुहुन्छ ।