• १२ मंसिर २०८१, बुधबार

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकारः मन्त्री कार्की

blog

काठमाडौं, कात्तिक १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । 

सुनसरीको बराहक्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानको रक्षा र परिवर्तनको उपलब्धिलाई संस्थागत गर्नका लागिसमेत निर्वाचनपछि कांग्रेसको नेतृत्वमा दुई तिहाइको गठबन्धनको सरकार बन्ने दाबी गर्नुभयो । 

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले विभिन्न आन्दोलनबाट आएको परिवर्तनको उपलब्धि र संविधान विरोधीतत्वलाई परास्त गर्नका लागि सत्तारूढ गठबन्धनको निर्माण भएको र निर्वाचनपछि समेत कायम रहने स्पष्ट पार्नुभयो । लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले गरिबी निवारण तथा बेरोजगारी समस्यालाई समाधान गर्नका लागि निर्वाचनपछि निर्माण हुने सरकारले ध्यान केन्द्रित गर्ने उल्लेख गर्नुभयो । 

“विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सिर्जनाका लागि आउने सरकारले योजनासहित अघि बढ्नेछ ।” उहाँले भन्नुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश भएको जनाउनुहुँदै सबैलाई सम्मान र सबै धर्म, भाषालाई सम्मान गर्ने जनप्रतिनिधि चयन गर्नका लागि उहाँले आग्रह गर्नुभयो । झुटको पुलिन्दा बाँड्ने र सामाजिक सद्भाव बिगार्ने तत्वबाट सावधान रहनका लागि मन्त्री कार्कीले आग्रह गर्नुभयो ।