• १९ असार २०८१, बुधबार

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन

उम्मेदवार कार्यकर्ता भेलामा सीमित

blog

राममणि दाहाल 

हेटौँडा, कात्तिक १४ गते । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार भएका व्यक्ति र सहभागी दलहरूले निर्वाचनको प्रचारप्रसारलाई तीव्र पार्नुपर्ने समयमा यस पटक दल र उम्मेदवारहरू कार्यकर्ता र समर्थकको भेलामा सीमित भएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन र २०७४ को प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदानसँगै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि उम्मेदवार र निर्वाचनमा सहभागी दलहरूले कार्यकर्ता परिचालनदेखि  सार्वजनिक रूपमा प्रचार–प्रसारलाई तीव्र पार्दै आएका थिए ।

तर, यस पटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेपछि उम्मेदवार र निर्वाचनमा सहभागी दलहरूले कार्यकर्ता परिचालनदेखि प्रचारप्रसारको कार्य खुम्चिएका छन् ।

स्वतन्त्रदेखि दलका उम्मेदवारसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनमा गरिएको कडाइका कारण निर्वाचनको २८ दिन बाँकी हुँदा आइतबारसम्म कार्यकर्ता र समर्थकको भेलामा सीमित भएका हुन् ।

निर्वाचन आयोगले प्रचारप्रसारमा रोक लगाएपछि सानादेखि ठूला दलहरू तथा स्वतन्त्र उम्मेदवार घरदैलो, अगुवा कार्यकर्ता तथा भ्रातृ सङ्गठनको भेला, निर्वाचन परिचालन समिति गठन र चुनावी रणनीति निर्माणमा लागेका छन् ।

आयोगद्वारा जारी निर्वाचन आचारसंहिता २०७९ को दफा १३ मा मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न वा सञ्चारमाध्यममा प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था गरिएको छ । 

कात्तिक १७ गतेभन्दा अघि कुनै राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभालगायतका कार्यक्रम र सञ्चारमाध्यमबाट प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने निर्वाचन आचारसंहितामा गरिएको व्यवस्थाका कारण दल तथा उम्मेदवारहरूले कार्यकर्ता तथा समर्थक परिचालन गर्न नपाउने भएपछि विगतमा जस्तो यस पटक चुनावी रौनकसमेत देखिएको छैन । 

मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न वा सञ्चारमाध्यममा प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने नयाँ व्यवस्थाले यस पटकबाट दल तथा उम्मेदवारहरूको चुनावी खर्चमा समेत कटौती गरिएको छ । यसले गर्दा विगतमा भन्दा चुनावी खर्चसमेत जोगिने देखिएको छ । 

आयोगले निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा २५ जनाभन्दा बढी जान नपाउने, सवारीसाधन तथा दलको झन्डा, चुनाव चिह्न र ब्यानर प्रयोगमा कडाइ गरेका कारण यस पटकको निर्वाचन विगतका निर्वाचनभन्दा कम तडकभडक देखिने भएको छ ।  

निर्वाचन आयोगले मकवानपुरमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा गरिएको कडाइका कारण आइतबार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवार र दलहरू कार्यकर्ता भेला, भेटघाट, घरदैलो र चुनावी रणनीति निर्माणमा सीमित भएका छन् ।