• २१ पुस २०८१, आइतबार

मेडिकल कलेजको नाम परिवर्तन, कर्मचारीद्वारा आन्दोलन चर्काउने चेतावनी

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, पुस १९ गते । नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीले नेपालगन्ज मेडिकल कलेजको नाम र बोर्ड हटाएर अस्पताल व्यवस्थापन पक्षले रातारात सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नाम र बोर्ड झुन्ड्याइएको घटनाप्रति विरोध जनाएका छन् ।

कर्मचारी आन्दोलन परिचालन समितिले अस्पताल व्यवस्थापन पक्षले शान्तिपूर्ण रूपमा आन्दोलनरत कर्मचारीलाई थप आक्रोशित पार्ने काम गरेको जनाउँदै अब आन्दोलन झन् चर्किने चेतावनी दिएको छ । आन्दोलन परिचालन समितिका संयोजक रत्ना गिरीले कर्मचारीको आन्दोलनको टुङ्गो नलगाई हठात संस्थाको नाम परिवर्तन गर्ने र थप कर्मचारी माग गर्ने कार्य कानुनविपरीत भएको बताउनुभयो । उहाँले अस्पताल व्यवस्थापनको यस्तो कार्यले आन्दोलन झन् चर्किने र अस्पतालका सबै सेवा बन्द गर्न बाध्य हुने बताउनुभयो । 

यसै गरी आन्दोलनका अर्का अगुवा सुमन श्रेष्ठ गिरीले पनि सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको कानुनी वैधतामाथि प्रश्न गर्नुभयो । उहाँले व्यवस्थापन पक्षको निर्णय मेडिकल माफिया प्रवृत्ति जस्तै भएको जनाउँदै सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि दर्ता नै नभएको जिकिर गर्नुभयो । नेपालगन्ज मेडिकल कलेजमा बोर्ड राख्ने अधिकार सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिलाई नभएको पनि श्रेष्ठ गिरीको भनाइ छ । 

आन्दोलन समितिका सहसंयोजक यमबहादुर खड्काले व्यवस्थापन पक्षले हचुवाका भरमा रातारात बोर्ड फालेर सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड राख्नु कर्मचारीलाई आक्रोशित बनाउने खेल भएको बताउनुभयो । उहाँले नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालका कर्मचारीमा फाटो ल्याउन खोजिएको भन्दै त्यसो हुन नदिने चेतावनी दिनुभयो । 

त्यसै गरी आन्दोलनरत कर्मचारीको अगुवाइ गर्दै आएकी अनिता थापाले कुनै पनि हालतमा आन्दोलन नरोकिने चेतावनी दिनुभयो । उहाँले रातारात अस्पतालमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नाम र बोर्ड लगाएर पैसाका भरमा कानुन हातमा लिएको आरोप पनि लगाउनुभयो । आन्दोलनरत कर्मचारीले जारी आन्दोलन नरोकिने चेतावनी दिँदै आन्दोलन झन् चर्को पार्ने दाबी गरेका छन् ।