• २१ पुस २०८१, आइतबार

निमोनियाका कारण बाल गायक सचिनको मृत्यु

blog

बाल गायक स्व. सचिन परियार ।

काठमाडौं, पुस १८ गते । बाल गायक सचिन परियारको निमोनियाका कारण निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत परियारको बिहीबार बिहान करिब १०ः४९ बजे निधन भएको अस्पतालका निर्देशक प्रा.डा. घनश्याम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सचिनको सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण निधन भएको हो ।

सचिन पुस १३ गते उच्च ज्वरो र श्वास फेर्न गाह्रो भएका कारण अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालमा भर्ना भएपछि उहाँलाई निमोनिया देखिनुका साथै धेरै अङ्गले काम गर्न छोड्र्दै गएपछि १५ वर्षीय सचिनको केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सचिन पाँच वर्षदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

सचिनले म्युजिक भिडियो र हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गर्नुभएको थियो । ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उहाँले गाएका प्रमुख गीत हुन् ।