• २० असार २०८१, बिहिबार

अलैँची थन्क्याउन भ्याइनभ्याइ

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक १४ गते । दशैँ, तिहारजस्ता चाडपर्व सकिएसँगै ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । किसान यतिबेला अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । 

असोज र कात्तिक महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची औल क्षेत्रमा भदौदेखि सङ्कलन गर्न सुरु गरिन्छ । लेकाली क्षेत्रमा मङ्सिर महिनासम्म सङ्कलन गर्ने गरिन्छ । 

भदौदेखि मङ्सिर महिनासम्म अलैँची थन्क्याउनलाई समय लाग्ने भए पनि अहिले मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो । अलैँची सङ्कलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पु¥याइदिने हुँदा किसानलाई अलि बढी चटारो हुने गर्छ । 

अलैँची सिजनका कारण दशैँ, तिहारजस्ता चाडपर्व सहज गरी मनाउन नै नपाएको किसानले बताएका छन् । मुख्य सिजन भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फुङ्लिङ नगरपालिका–६, बिहीबारेका किसान केदार पतङ्वाले बताउनुभयो । उहाँले दशैँ घरमै मनाए पनि तिहारमा भने अलैँची बगानमै बिताउनुभएको थियो । 

फुङ्लिङ नगरपालिका–६ कै अर्का किसान खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै तिहार बितेको बताउनुभयो । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताउनुभयो । पतङ्वा र शेर्पाजस्तै अलैँची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैँची सङ्कलन गर्न र थन्क्याउनमा भ्याइनभ्याइ छ । 

जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुन्छ । जिल्लामा करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । प्रमुख नगदेबाली भएकाले धान, मकैजस्ता खाद्यान्न बाली उत्पादन हुने जग्गा नै मासेर किसानले अलैँची खेती गर्दै आएका छन् ।