• ११ असोज २०८१, शुक्रबार

पाल्पाली ढाकाको आकर्षण बढ्दै

blog

रेखीराम राना

पाल्पा, कात्तिक १४ गते । पाल्पाली ढाकाबाट बनेका सामग्री ‘कोसेली’ (उपहार)का रूपमा प्रयोग हुने क्रम बढेको छ । 

तानसेन घुम्न आउने मानिसले पाल्पाली चिनोका रूपमा आफन्तलाई ढाकाबाट बनेका चोली, पछ्यौरी, सारी, टोपी, इस्टकोट, पर्स, हाते झोला कोसेलीका रूपमा लैजाने गरेका हुन् । 

“पहिले तिहारका बेलामा धेरै बिक्री हुने ढाका कपडा पछिल्लो समय घुम्न आउनेले उपहारका रूपमा लैजाने गरेका छन्,” तानसेनका ढाका व्यवसायी मनोज पौडेलले भन्नुभयो । 

पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पाल्पाली चिनोका रूपमा ढाकाका सामग्री किन्ने गरेका हुन् । पाल्पामै बनेको ढाका आकर्षक हुने र स्थानीय उत्पादन भएकाले आफूले खरिद गरेको नेपालगञ्जबाट घुम्न आउनुभएका शङ्कर नेपालले बताउनुभयो । 

पछिल्लो समय पाल्पाली ढाकाले ब्रान्ड प्राप्त गरेपछि उत्पादन बढाउनतिर व्यवसायी लागेका छन् । यसका साथै पाल्पाली ढाका उद्योगलाई व्यावसायिक बनाउनतर्फ ध्यान गएको व्यवसायी बताउँछन् । 

पाल्पाली ढाकाबाट यसअघि चोली र टोपी मात्र बन्ने गरेको थियो तर यसलाई कोठा सजाउन आवश्यक पर्ने पर्दा, कुसन, तन्ना, कोट, टाई, साडी, कुर्ता सुरवाल, सोफा कभरजस्ता सामग्रीका लागिसमेत ढाका उत्पादन भइरहेको पाल्पाली ढाका सङ्घका अध्यक्ष मनोज पौडेलले बताउनुभयो । पाल्पाली ढाकाका सामग्री पाल्पा घुम्न आउनेका लागि कोसेलीका रूपमा मात्रै दिन सकिने हो भने यसको सकारात्मक प्रचार हुने उहाँले बताउनुभयो । 

हाते तानबाट बुनेका र मेसिनबाट बुनेका ढाकाका कपडाबाट विभिन्न सामग्री तयार गरी अन्य जिल्लामा समेत बिक्री सुरु भएको छ । हाते तानमा बुनेका ढाकाको विदेश निर्यात पनि हुने गरेको छ । मेसिनबाट बनेका ढाका भने बुटवल, काठमाडौँ, पोखरा, चितवन, नेपालगञ्जमा पठाइने गरेको छ । पछिल्लो समय पाल्पाली ढाका उत्पादनमा विविधीकरण गरेपछि यसको माग बढेको व्यवसायी बताउँछन् ।