• १९ असार २०८१, बुधबार

प्रधानमन्त्री को बन्ने टुङ्गो लागेको छैन : प्रवक्ता महत

blog

बसन्त पराजुली

भरतपुर, कात्तिक १३ गते । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भावी प्रधानमन्त्रीका बारेमा अहिलेसम्म गठबन्धनका बीचमा कुनै टुङ्गो नभएको बताउनुभएको छ । 

भरतपुर विमानस्थलमा प्रेस युनियनद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । डा. महतले प्रधानमन्त्रीको भन्दा पनि अहिले गठबन्धनलाई कसरी बहुमत ल्याउने चिन्ता भएको स्पष्ट पार्नुभयो । 

“अबको नयाँ प्रधानमन्त्रीका बारेमा त्यस्तो कुनै सहमति भएको छैन । आफ्नो पार्टीले हाम्रो होस् भन्ने आशय राख्नु गलत हैन” उहाँले भन्नुभयो । ‘भावी प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बन्ने चर्चा छ नि’ पत्रकारको जिज्ञासामा कांग्रेस प्रवक्ता डा. महतले भन्नुभयो, “अहिले हाम्रो सम्पूर्ण ध्यान बढीभन्दा बढी सिट जितेर बहुमत ल्याउनेमा केन्द्रित छ, प्रधानमन्त्री को बन्ने भन्ने होइन ।”

कांग्रेसलाई ठूलो दल भनेर सबैले स्वीकार गरेका कारण पनि नयाँ सरकारको नेतृत्व कांग्रेसको हुनुपर्ने उहाँको भनाइ छ । “जो हुन्छ उसले म हुन्छु भनेर भन्दैन, हामी अहिले ९१ सिटमा चुनाव लड्दै छौ । बाँकी गठबन्धन दलमा सहभागी सबै दलले ७४ सिटमा चुनाव लड्दै छन् । कांग्रेस ठूलो दल हो भन्ने सबैले स्वीकार गरेका छन् ।” उहाँले भन्नुभयो ।  

देशैभरि गठबन्धन दललाई चुनाव जिताउन कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिने उम्मेदवारले अझै पनि आफ्नो उम्मेदवारी निष्क्रिय बनाएमा पार्टीले उचित मूल्याङ्कन गरेर जिम्मेवारी दिने उहाँले बताउनुभयो ।