• २२ वैशाख २०८१, शनिबार

संवैधानिक नियुक्तिमा दलीयकरण नगर्ने

कांग्रेसको सङ्कल्प-पत्रमाथि छलफल : परराष्ट्र मामिलामा राष्ट्रिय सहमति

blog

पार्टी केन्द्रीय कार्यालयमा आयोजित अन्तरक्रियामा सहभागी कांग्रेस नेता । तस्बिर : केशब गुरुङ

काठमाडौं, कात्तिक १३ गते । सत्तारुढ दल नेपाली कांग्रेसले शनिबार सार्वजनिक गरेको मङ्सिर ४ गते हुने निर्वाचनसम्बन्धी सङ्कल्पपत्र (घोषणापत्र) माथि आइतबार अन्तरक्रिया भएको छ। 

कांग्रेस सहमहामन्त्री एवम् घोषणापत्र मस्यौदा तयारी समितिका प्रवक्ता जीवन परियार, डा. स्वर्णिम वाग्ले, गेजा शर्मा वाग्ले, डा. गोविन्दराज पोखरेल, डा. कृष्ण पौडेललगायत सदस्यको उपस्थितिमा घोषणापत्रमाथि छलफल भएको हो। 

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घोषणापत्रमा समेटिएका विभिन्न विषयमाथि छलफल भएको हो। छलफलका क्रममा शिक्षा, स्वास्थ्य, आर्थिक विकास एवम् सुशासन, परराष्ट्र मामिला सम्बन्धमा उठेका प्रश्नको जवाफ मस्यौदा समिति सदस्यले दिएका छन्। 

समितिका प्रवक्ता परियारले २०१५ सालमा जननिर्वाचित प्रथम प्रधानमन्त्री एवम् कांग्रेस नेता बीपी कोइरालाले तयार पारेको घोषणापत्र अध्ययन गरेर एवम् पटक–पटक व्यक्त गरेको प्रतिबद्धतामा के कति कमजोरी भयो र अब के गर्न सकिन्छ भनेर मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयार गरेको बताउनुभयो। 



तीन सिफ्टमा २४ सै घण्टा काम

घोषणापत्र तयारी समितिका सदस्य एवम् र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रमा जोड दिँदै तीन सिफ्टमा दिनमा २४ घण्टा काम गर्न सक्ने योजना अघि सारिएको बताउनुभयो। विदेशिने युवाको सङ्ख्या कम गर्दै पारदर्शी महत्त्वाकाङ्क्षी योजना रहेको उल्लेख गर्नुहुँदै उहाँले स्वास्थ्य, पर्यटन, उद्योग तथा निर्माण क्षेत्रमा आबद्ध जनशक्ति सङ्ख्या वृद्धि गर्न सकिने बताउनुभयो।


डा. वाग्लेले मनोरञ्जन र डिजिटलाइजेशन क्षेत्रमा रोजगारीको सङ्ख्या बढाउन सकिने बताउनुभयो। उहाँले डिजिटलाइजेशनको जनशक्ति ६ लाखमा पुर्‍याउन सक्ने अपुष्ट आधार रहेको उल्लेख गर्नुभयो। युवामा बसी–बसी कल्पना नै नगरेको फड्को मार्न सक्ने आत्मविश्वास रहेको उहाँको भनाइ छ। कृषिमा त्यही अनुपातमा रोजगारी बढाउन सकिने उहाँले बताउनुभयो। 

डा. वाग्लेले निराशा मात्र बाँड्न नहुनेमा जोड दिनुभएको छ। आर्थिक सुधारको योजना निजी क्षेत्रलाई लिएर आएको उहाँको भनाइ छ। “सबैको ध्यान आर्थिक मुद्दामा जोडिँदै गर्दा तीन सिफ्टमा काम गर्न सकिन्छ। अहिले निजी क्षेत्रमैत्री भनेर चिनिने नेपाली कांग्रेस नै  हो। यस्तै हो, देश यसरी चलिरहन्छ भन्ने हो भने कुरा नमिल्न सक्छ। युवाको हुटहुटी र सबैको आकाङ्क्षा समेट्न महत्त्वाकाङ्क्षा राखिएको हो”, उहाँले भन्नुभयो।

प्राथमिकतामा प्राविधिक शिक्षा 

कांग्रेस संकल्पपत्रमा शिक्षा सम्बन्धमा डा. कृष्ण पौडेलले व्यावसायिक एवम् प्राविधिक शिक्षामा जोड दिएको बताउनुभयो। विद्यालय शिक्षा अनिवार्य एवम् निःशुल्क हुनुपर्ने विषयमा उहाँले निजी शिक्षण संस्थाले जति शुल्क लिएको छ, त्यो अनुसारको सेवा, सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो।

डा. पौडेलले भन्नुभयो, “४० प्रतिशत प्राविधिक शिक्षा अपडेट गर्ने, प्राविधिक धारको विद्यालय सञ्चालन गर्ने, आर्थिक रोजगारी, उद्यमी, रोजगारी सिर्जना गर्ने”, सो उद्देश्य घोषणापत्रमा समावेश भएको उहाँले प्रस्ट्याउनुभयो। 

एकीकृत स्वास्थ्य प्रणाली विकास

स्वास्थ्य सम्बन्धमा बोल्नुहुँदै प्रताप पौडेलले २०४८ सालपछि बनेको स्वास्थ्य प्रणालीमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी ३० वर्ष अगाडिको प्रणालीमा चलिरहेका छौँ। बीमा प्रणाली, प्रभावकारीताको विषयमा धेरै प्रश्न उठेका छन्। पैसा नभएकाले उपचारबाट वञ्चित हुनु नपरोस् भनेर सबै नागरिक बीमामा आबद्ध गराउने हो।” उहाँले दश लाखसम्मको उपचारको व्यवस्था गर्न सके गम्भीर रोगकोसमेत नेपालमा उपचार गर्न सकिने बताउनुभयो। 

संवैधानिक नियुक्तिमा दलीयकरण नगर्ने 

सुशासन र विकास सम्बन्धमा उठेका सवालको जवाफ दिनुहुँदै डा. गोविन्दराज पोखरेलले संवैधानिक नियुक्तिमा दलीयकरण नगर्ने बताउनुभयो। यो विषयमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सकारात्मक धारणा राख्नुभएको पोखरेलको भनाइ छ। “सुशासनका लागि विगतमा पार्टीले जे, जति गल्ती गरे त्यसलाई बिर्सनुपर्छ। पहिला हामीले संविधानलाई बलियो बनाउने र सङ्घीयतालाई कार्यान्वयन गर्नेमा फोकस हुनुपर्छ। अब आर्थिक विकास र सुशासनमा केन्द्रित गरेका छौँ”, उहाँले भन्नुभयो।


परराष्ट्र मामिलामा राष्ट्रिय सहमति

घोषणापत्र तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेले परराष्ट्र मामिलामा राष्ट्रियता, राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिलाई स्पष्ट राखिएको बताउनुभयो। पार्टी तीन विषयमा स्पष्ट भएको उहाँको भनाइ छ। 

स्वतन्त्र र सन्तुलित विदेश नीति सम्बन्धमा १२ बुँदामा समावेश गरिएको उल्लेख गर्नुभयो। छिमेकीसँगको सम्बन्ध, सीमा विवाद, नयाँ नक्सा एउटा राजनीतिक ‘प्रोपागाण्डा’को रूपमा देखिएको उहाँको भनाइ छ। उहाँले नेपालीको प्रतिनिधित्व गर्ने सच्चा उदारवादी र राष्ट्रवादी शक्ति नेपाली कांग्रेस नै भएको दाबी गर्नुभयो। 

नेपालको संविधान सबै धर्म, जाति, सम्प्रदाय र नेपालीले अपनत्व हुने गरी बनाउने सङ्कल्प कांग्रेसले गरेको उहाँले उल्लेख गर्नुभयो। कांग्रेस आगामी निर्वाचनमा आत्मविश्वासका साथ जनतासमक्ष गएको उहाँले प्रष्ट पार्नुभयो। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।