• २० असोज २०८१, आइतबार

चाडपर्वले फलफूल महँगियो

blog

काठमाडौँ, कात्तिक १३ गते । तिहारलगत्तै पर्ने छठमा फलफूलको मागसँगै मूल्य पनि बढेको छ। तिहारको तुलनामा छठमा केरा महँगो भएको छ। छठमा केरा बढी माग र खपत हुने भएकाले मूल्य बढेको हो।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार शनिबार केरा प्रतिदर्जन १२० देखि १३५ रुपियाँमा कारोबार भएको छ। जब कि तिहारमा प्रतिदर्जन ९० देखि १२० रुपियाँसम्ममा कारोबार भएको थियो।

नेपाल फलफूल थोक व्यवसाय सङ्घ, काठमाडौँका अध्यक्ष अम्बर बानियाँले छठमा बढी माग हुने भएकाले केराको मूल्य बढेको बताउनुभयो। छठलाई लक्षित गरेर बजारमा केरा, मौसम, सुन्तलालगायतका फलफूल भारतबाट भिœयाइएको छ भने स्याउ भारत र चीनबाट भित्र्याइएको छ। 

कालीमाटी, कुलेश्वर, बल्खु, बालाजु बानेश्वर, कोटेश्वर, जडीबुटी, एकान्तकुना, जोरपाटीलगायत काठमाडौँ उपत्यकाका ठाउँठाउँका थोक बजारबाट फलफूलको कारोबार हुने गरेको छ। 

नेपाल फलफूल थोक व्यवसाय सङ्घ, काठमाडौँका अनुसार काठमाडौँ उपत्यकामा भित्रिने फलफूलको ८० देखि ८५ प्रतिशत कालीमाटी र कुलेश्वरको बजारबाट वितरण हुन्छ। सङ्घका अध्यक्ष बानियाँले उपत्यकाभर र उपत्यका आसपासका जिल्लाका व्यवसायीले कुलेश्वरस्थित बजारबाट फलफूल किनेर लग्ने गरेको बताउनुभयो। 

उहाँले छठमा विशेषगरी केरा, नरिवल, उखु बढी माग हुने गरेको र यसबाहेक स्याउ, सुन्तला, मौसमको पनि माग भएको जानकारी दिनुभयो। किवी र ड्रागन फ्रुट्सलगायतको पनि विगतका तुलनामा कारोबार बढेको उहाँको भनाइ छ। 

७५ करोडको केरा भित्रियो

केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय उत्पादन रहेको छ। छठमा अधिकांश माग भारतबाट आएको केराले धान्ने गरेको अध्यक्ष बानियाँले बताउनुभयो। तिहार र छठको बीचमा ७० करोड रुपियाँको केरा भारतबाट भित्रिएको छ। सोही अवधिमा कुलेश्वर थोक बजारमा पाँच करोड रुपियाँको नेपाली केरा भित्रिएको छ।

भारतीय केरा आकर्षक र ठूलो हुने भएकाले आमउपभोक्ताले नेपाली केराभन्दा भारतीय केरा बढी किन्ने गरेको व्यापारी बताउँछन्। कालीमाटीका केरा व्यापारी विजय कार्कीले नेपाली केरा खाँदा स्वादिलो भए पनि हेर्दा आकर्षक नदेखिने भएकाले धेरैको माग भारतीय केराकै हुने गरेको अनुभव सुनाउनुभयो। उहाँका अनुसार नेपाली केरा प्याकेजिङ राम्रो नहुने र दाग लागेका हुन्छन् जसले गर्दा उपभोक्ताले बढी मूल्य तिरेरै भए पनि भारतकै केरा किन्ने गर्छन्। 

१० प्रतिशत मात्रै नेपाली स्याउ

सङ्घका अनुसार भारतीय काश्मीरी चक्लेटी स्याउ प्रतिकेजी थोक मूल्य १५० देखि १६० रुपियाँ रहेको छ भने नेपाली स्याउको मूल्य प्रतिकेजी १६० देखि २०० रुपियाँसम्म पर्छ। सङ्घले उपत्यकावासीको कुल स्याउ खपत वा मागको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले माग धान्ने गरेको छ। अन्य माग चीन र भारतको स्याउले धान्ने गरेको छ। सुन्तला प्रतिकेजी १३० देखि १६० रुपियाँ केजी रहेको छ भने मौसम प्रतिकेजी १६० देखि दुई सय रुपियाँ रहेको छ। मौसममा भारतमै भर पर्नुपर्ने र नेपाली सुन्तला अहिलेसम्म बजारमा आइनसकेकाले भारतकै सुन्तला बजारमा रहेको छ।