• १३ साउन २०८१, आइतबार

भेरी नदीमा डुबेर एकको मृत्यु एक बेपत्ता

blog

बेपत्ताको खोजी कार्य गर्दै सुरक्षाकर्मी तथा स्थानीयहरू । तस्बिर.सहदेव बस्नेत

जाजरकोट, कात्तिक ९ गते । जाजरकोट सदरमुकाम नजिकै भेरी नदीको किनारमा पिकनिक खान गएका एक युवकको मङ्गलबार दिउँसो डुबेर मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ ।

भेरी नगरपालिका ४ का २० वर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका ३ का २६ वर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । नदीमा डुबेका वीरेन्द्र शाहीलाई भने साथीहरूले उद्धार गरेका छन्  ।

जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले रोशनको शव निकालेर हाल पोस्मार्टमको लागि जिल्ला अस्पताल जाजरकोटमा राखिएको बताउनुभयो । साथै बेपत्ताको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक निरौलाले बताउनुभयो ।

तिहारको अवसरमा सदरमुकाम खलङ्गामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरूले मङ्गलवार भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदी किनारामा पिकनिक (भोज) को आयोजना गरेका थिए । पिकनिक गएका युवाहरू नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी अञ्जन श्रेष्ठले नदीमा डुबेका र बेपत्ताको खाेजी तथा उद्धारका लागि तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खोजी कार्य जारी राखेको बताउनुभयो ।
Author

सहदेव बस्नेत/वासुदेव शर्मा